घोराही, भदौ ३० । घोराहीमा जेन–जी आन्दोलन उग्रिँदा ठूलो क्षति भएको छ । भ्रष्टाचार निवारण तथा सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध हटाउनुपर्ने मागसहित सुरु भएको आन्दोलनका क्रममा दाङमा कम्तीमा ६० भन्दा बढी सवारी साधन जलेर नष्ट भएका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाका अनुसार ३८ चारपाङ्ग्रे, १२१ दुईपाङ्ग्रे, एउटा अटो, एउटा स्काभेटर, एउटा लोडर, एउटा टेलर र छवटा साइकल जलाइएका छन् । साथै, १० वटा चारपाङ्ग्रे र ४ वटा मोटरसाइकल तोडफोड भएका छन् ।

सबैभन्दा धेरै क्षति तुलसीपुरमा भएको छ, जहाँ उच्च अदालत, जिल्ला समन्वय समिति, यान्त्रिक कार्यालय, लोक सेवा आयोग, आन्तरिक राजश्व कार्यालयलगायतका सरकारी कार्यालयका सवारी साधन जलेका छन् । निजीसहित ४३ मोटरसाइकल, १ अटो र केही टिपर, ट्र्याक्टर तथा दमकलसमेत आगजनीमा परेका छन् ।

त्यसैगरी घोराही र तुलसीपुर उपमहानगरपालिकाका कार्यालयहरू तथा वडा कार्यालयहरूमा पनि आगजनी र तोडफोड भएको प्रशासनले जनाएको छ । घोराहीका करिब एक दर्जन वडामा तोडफोड वा आगजनी भएको छ भने तुलसीपुरका केही वडा कार्यालयसमेत आक्रमणमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस