दाङ, भदौ ३० । घोराही उपमहानगरपालिका–१० नारायणपुरस्थित खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कार्यालयमा लागेको आगोले भित्रका सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ। भदौ २४ गते प्रदर्शनकारीहरूले कार्यालयमा तोडफोड गर्दै आगजनी गरेको प्रहरीको भनाइ छ।

घटनापछि प्रहरीले तयार पारेको मुचुल्का अनुसार कार्यालयमा रहेका २८ प्रकारका सामग्री पूर्णरूपमा जलेका छन्। जसमध्ये ४ थान कम्प्युटर सेट, ३ थान फोटोकपी–प्रिन्टर मेसिन, ८ वटा काठका टेबल, एक इन्भर्टर, २ थान ब्याट्री, एक ल्याब परीक्षण मेसिन, ८ थान कुर्सी, ९ थान प्लास्टिक कुर्सी, ४ थान स्टिलका दराजसहित अन्य महत्त्वपूर्ण कागजात, क्यासबक्स, क्यालकुलेटर लगायतका सामान रहेका थिए। यी सबैको अनुमानित मूल्य करिब २१ लाख २ हजार रुपैयाँ रहेको इलाका प्रहरी कार्यालय नारायणपुरले जनाएको छ।

प्रहरीका अनुसार भदौ २४ गते साँझ करिब ७ बजे करिब आधा दर्जन आन्दोलनकारी झ्याल–ढोका तोड्दै कार्यालयभित्र प्रवेश गरी तोडफोडपछि आगो लगाएका थिए।

समितिका अध्यक्ष कुलप्रसाद रजौरे (श्रवण) का अनुसार कार्यालय भवन पूर्णरूपमा जलेर नष्ट भएपछि खानेपानी सेवा तत्कालका लागि अवरुद्ध भएको छ। मूल्यवान् सम्पत्ति जलेको पीडाभन्दा पनि उपभोक्तासम्बन्धी अभिलेख र अन्य आवश्यक कागजात जलेको कारण थप समस्या उत्पन्न भएको उहाँले बताए। साथै, तत्काल वैकल्पिक व्यवस्था गरी सेवा निरन्तरता दिने तयारी भइरहेको र दोषीलाई पहिचान गरी कानुनी कारबाही गर्न सरकारसँग आग्रह गरिएको जानकारी दिनुभयो।

यसबीचमा प्रहरीले घटनाबारे अनुसन्धान तीव्र पारेको छ। तर, आगजनीको जिम्मेवारी अहिलेसम्म कसैले पनि स्वीकार गरेको छैन। प्रत्यक्षदर्शीहरूका अनुसार आगोको लप्का तीव्र गतिमा फैलिएकाले स्थानीयवासी र प्रहरीले नियन्त्रणको प्रयास गरे पनि कार्यालयभित्रका सबै सामग्री जलेर नष्ट भएका थिए।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस