तुलसीपुर, भदाै ३१ । ‘जेनजी’ आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षति पुगेको आन्तरिक राजश्व कार्यालय तुलसीपुरले भौतिकरूपमा सेवा सञ्चालन गर्न कम्तीमा १० दिन अझै लाग्ने जनाएको छ । कार्यालयका प्रमुख श्रीधर टण्डनका अनुसार हाल कार्यालयको भवन, उपकरण र अभिलेख जलेर नष्ट भएकाले तत्काल सम्पूर्ण सेवा प्रदान गर्न सम्भव छैन ।
कार्यालयमा रहेका कम्प्युटर, प्रिन्टर, नेटवर्क उपकरण, अन्तःशुल्क स्टिकर, अडिट तथा अनुसन्धानसम्बन्धी फाइललगायतका अधिकांश सामग्री जलेका छन् । केही फाइल र स्टिकर मात्र जोगिएका कारण सम्पूर्ण विवरण मिलाउन समस्या परेको प्रमुख टण्डनले बताए । “अभिलेख नष्ट भएकाले राजस्व बुझाउनेबाहेकका काम रोकिएका छन्,” उनले भने, “हाल ग्लोबल आइएमई बैंकको काउन्टरमार्फत मात्र राजस्व संकलन भइरहेको छ ।” उनका अनुसार कर्मचारीहरूको आवास क्षेत्रमा समेत तोडफोड र आगजनी हुँदा निजी सम्पत्तिमा क्षति पुगेको छ ।
भौतिकरूपमा सेवा अवरुद्ध भए पनि करदाताले स्थायी लेखा नम्बर (प्यान) भने बिना समस्या लिन सक्ने व्यवस्था मिलाइएको छ । नेपाल सरकारको ‘नागरिक एप’ मार्फत पनि व्यक्तिले आफैं प्यान लिन सक्ने प्रमुख टण्डनको भनाइ छ । अनलाइन प्रणालीमार्फत व्यवसाय दर्तासम्बन्धी विवरण सुरक्षित रहे पनि बीचका व्यक्तिगत फाइल नष्ट भएकाले तथ्यांक मिलानमा समस्या आउने कार्यालयले जनाएको छ ।
संघीय भवन डिभिजनको प्राविधिक टोलीले जलेको कार्यालय भवनको अवलोकन गरिसकेको छ । भवन गम्भीर रूपमा क्षतिग्रस्त भएकाले तत्काल मर्मत गरी प्रयोग गर्न नसकिने अवस्था रहेको कार्यालयको निष्कर्ष छ ।












