रोल्पा, भदौ ३१ । सुनछहरी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, पोबाङले कृषि उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गर्न इच्छुक किसान समूह, सहकारी संस्था तथा संकलन केन्द्रहरूलाई निवेदन दिन आव्हान गरेको छ।
गाउँपालिकाको आ.व. २०८२/०८३ को स्वीकृत बजेटअन्तर्गत सञ्चालन हुने यस कार्यक्रमका लागि यो सूचना पहिलो पटक २०८२ भदौ ३१ गते प्रकाशित गरिएको हो। इच्छुक संकलन केन्द्र, कृषक समूह तथा सहकारी संस्थाले यो सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आवश्यक कागजात सहित निवेदन पेश गर्नुपर्ने कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार निवेदनका साथ अनिवार्य रूपमा बुझाउनुपर्ने कागजातहरूमा अनुसूची–२ अनुसारको ढाँचामा निवेदन, वडा कार्यालयको सिफारिस पत्र, सहकारी, समूह वा फार्मको हकमा दर्ता प्रमाणपत्र र कर चुक्ताको प्रतिलिपि तथा कृषकहरूको विवरण समावेश छन्।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीले किसानलाई उत्पादन वृद्धिमा प्रोत्साहन गर्न यो कार्यक्रम ल्याइएको जानकारी दिनुभयो।

