काठमाडौं, असोज जेन–जी आन्दोलनका कारण निजी सम्पत्तिमा परेको क्षतिबापत बीमा दाबी करिब ३० अर्ब रुपैयाँ पुगेको नेपाल बीमा प्राधिकरणले जनाएको छ। मङ्गलबारसम्म बीमा कम्पनीहरूमा दर्ता भएका दाबीहरू ३० अर्ब हाराहारीमा पुगेको प्रारम्भिक विवरणमा उल्लेख छ।

प्राधिकरणका अनुसार निजी तथा औद्योगिक सम्पत्तिमा भएको तोडफोड र आगजनीका कारण निर्जीवन बीमा र पुनर्बीमा कम्पनीहरूको दायित्व विगतका प्राकृतिक विपत्तिभन्दा बढी हुने देखिएको छ। क्षतिको मूल्याङ्कन र थप दाबीहरू आउन बाँकी भएकाले यो रकम अझ बढ्ने अनुमान गरिएको छ।

हालसम्म ठूला व्यावसायिक प्रतिष्ठानका दाबी बढी आएको र सरकारी सम्पत्तिको बीमा नभएकाले त्यहाँको क्षति बीमा कम्पनीमा नपर्ने प्राधिकरणले जनाएको छ। गाडीहरूको तेस्रो पक्ष बीमा र साना–साना क्षतिको दाबी जोडिँदा करिब ४० अर्बभन्दा बढी पुग्ने सम्भावना छ।

आन्दोलनका क्रममा चन्द्रागिरि केबलकार, भाटभटेनी सुपरमार्केट, बैंकका शाखा, गाडीका शोरुम, मौलाकालिका केबलकार, सीजी डिजिटल, होटल हिल्टन, एनसेल, ह्यात रिजेन्सी होटलसहित धेरै निजी घर र व्यवसायमा आंशिक वा पूर्ण क्षति पुगेको छ।

२०७२ को भूकम्पमा बीमा कम्पनीहरूले करिब १८ अर्ब रुपैयाँ भुक्तानी गरेका थिए। तर जेन–जी आन्दोलनबाट भएको क्षतिको दाबी सोभन्दा धेरै हुने अपेक्षा बीमकहरूको छ।

सम्पत्ति बीमा खरिद गर्दा आगजनी र तोडफोडलाई अनिवार्य रूपमा कभर गर्नुपर्ने व्यवस्थाले गर्दा बीमा कम्पनीहरूमा दायित्व बढेको हो। नेपाल बीमा प्राधिकरणले बीमितले समयमा नै भुक्तानी पाऊन् भनी बीमा कम्पनीहरूलाई छिटो र सहज दाबी निस्तारण गर्न निर्देशन दिइसकेको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस