काठमाडौँ, असोज २ । उत्तरी छिमेकी चीनले ढिला गर्दै अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएको छ । बिहीबार सिंहदरबारमा चीनका नेपालस्थित राजदूत छन सोङले कार्कीलाई भेटी शुभकामना व्यक्त गर्दै दुवै देशबीचको मित्रता र सहकार्य अझ प्रगाढ बनाउने विषयमा सहमति भएको बताइएको छ ।
भदौ २७ मा प्रधानमन्त्री बनेकी कार्कीलाई चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छ्याङले भने अझै औपचारिक बधाई दिएका छैनन् । यसअघि चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन चियानले मात्र कार्कीको नियुक्तिप्रति शुभकामना प्रकट गरेका थिए ।
यता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतका राजदूत नवीन श्रीवास्तवले भने कार्कीलाई तत्काल बधाई दिई टेलिफोनमा पनि कुराकानी गरिसकेका छन् । पञ्जाबस्थित तिब्बती धर्मगुरु दलाई लामाले समेत चीनभन्दा अघि कार्कीलाई बधाई दिएका छन् । उनले पठाएको सन्देशमा नेपाली र तिब्बती जनताको ऐतिहासिक निकटता तथा १९५९ पछि तिब्बती शरणार्थीको पुनर्वासमा नेपालले गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गरिएको छ ।
त्यस्तै निर्वासित तिब्बती सरकारका केन्द्रीय प्रशासन प्रमुख पेन्पा छेरिङले पनि कार्कीलाई बधाई सन्देश पठाउँदै नेपाल–तिब्बती जनताबीचको ऐतिहासिक सम्बन्धलाई बलियो बनाउँदै शरणार्थीको अवस्था सुधार हुने आशा व्यक्त गरेका छन् ।
शीर्षक:
चीनबाट ढिला बधाई, प्रधानमन्त्री कार्कीलाई दलाई लामा र भारतको अग्रिम शुभकामना

