दाङ, ८ असोज । दाङको तुलसीपुर उपमहानगरपालिका–६ मा रहेको लेखापढी कानुन व्यवसायीको कार्यालयमा तोडफोड र आगजनी हुँदा करिब ३५ लाखभन्दा बढीको क्षति भएको छ। गत भदौ २४ गते दिउँसो करिब ३ बजेतिर जेनजी समूहका व्यक्तिहरुको भिडले मालपोत कार्यालय परिसरभित्र रहेको सो कार्यालयमा प्रवेश गरी तोडफोड गर्दै आगजनी गरेको प्रहरीले जनाएको छ।
आगजनीका कारण अफिसभित्र रहेका कम्प्युटर, प्रिन्टर, स्क्यानर, टेबल, कुर्सी, पर्दा, कागजात र प्रमाणपत्रलगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएको नेपाल लेखापढी कानुन व्यवसायी संघ लुम्बिनी प्रदेशका संयोजक हरिलाल पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार समितिको अफिसियल सामान मात्रै १३ लाख ६१ हजार रुपैयाँभन्दा बढी नोक्सानीमा परेको छ।
त्यस्तै, व्यक्तिगत रूपमा लेखापढी व्यवसायीहरू हरीलाल पौडेल, झक्कुप्रसाद वली, टेकनप्रसाद गौतम, विनोद न्यौपाने, नवराज गौतम, कालि बहादुर चौधरी, मोहलाल बस्नेत, भिमबहादुर खत्री, पूर्णबहादुर वली, भुपबहादुर बुढामगर, धर्मराज वली, खेमराज खड्का, सुनिल पाण्डे, देवबहादुर रेग्मी, श्यामराज डीसी, सुमन रेग्मी र सुरेन्द्र रिजालसहित १८ जनाको व्यक्तिगत सम्पत्ति क्षति समेत जोड्दा करिब ३५ लाख ३५ हजार ३ सय रुपैयाँ पुगेको पीडित पक्षले दाबी गरेको छ।
लेखापढी समितिले यस घटनामा संलग्न व्यक्तिहरूमाथि कारबाही र कानुनअनुसार क्षतिपूर्ति उपलब्ध गराउन सम्बन्धित निकायलाई माग गरेको छ।












