शोभाखर पन्थी

अर्घाखाँची, ४ असोज । भदौ-२४ गते जेन-जी आन्दोलनको नाममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको घरमा आगजनी गरियो । आगजनीबाट आचार्यको घरमा भएका सम्पूर्ण सामग्री जलेर नष्ट हुनुका साथै सिङ्गो घर समेत जलेर ध्वस्त भयो । यो घर आचार्य सांसद नहुँदै पैतृक सम्पत्ति र उनकी श्रीमती दीपा आचार्यको नोकरीबाट बनेको घर हो । घर जलेपछी मुख्यमन्त्री आचार्यको परिवार आफन्तको घरमा आश्रय लिएर बस्न बाध्य भएको छ ।

२३ गते काठमाडौंमा भएको घट्नाले निकै चिन्तित बनेको आचार्य परिवारले अर्को दिन हुल आएर आफ्नो घर जलाउला भन्ने कल्पना पनि गरेन । काठमाडौंमा भएका घाइतेलाई कसरी बचाउन सकिन्छ ? उनीहरुलाई के सहयोग गर्नुपर्छ भनी उनी निरन्तर सम्पर्कमा थिए । तर अफसोस उनले कल्पना नगरेको उनको घरलाई नै निशाना बनाएर आगजनी गरियो ।

अर्घाखाँची जिल्लामा आन्दोलनकारीले अलि बढी राजनीतिक दलका पार्टी कार्यालयलाइ निशाना बनाएका थिए । उनीहरुले अरु पार्टी कार्यालयका सामग्री बाहिर ल्याएर सामान मात्र आगजनी गरे पनि नेकपा एमालेको पार्टी कार्यालय भने पूर्ण रुपमा ध्वस्त हुनेगरी आगजनी गरे । एमाले पार्टी कार्यालय आगजनी गरेको भीडले तत्कालै मुख्यमन्त्री आचार्यको घरमा आगजनी गर्‍यो । आगजनीको समयमा मुख्यमन्त्री आचार्य प्रदेश राजधानी दाङ थिए । आचार्यको घर आगजनी गर्न आउने समूहलाई स्थानीय बासिन्दाले आगजनी नगर्न धेरै अनुरोध गरे, रोए-कराए तर त्यहाँ सुन्नेवाला कोही थिएन । स्थानीय बासिन्दाले गरेको आग्रह निरर्थक भयो बरु उनीहरुले उल्टो धम्की खेप्नु पर्‍यो ।

आफ्नो घर र घरमा भएका धन,सम्पत्ति, सर-सामान पुरै जलेर नष्ट भए पनि मुख्यमन्त्री आचार्य अझै घरमा आउन पाएका छैनन् । घर, परिवार र धन-सम्पत्ति भन्दा जनता ठुलो भन्दै काममा खट्ने उनले आफ्नो घर जलेकोप्रति सोच्नसम्म पाएका छैनन् । उनलाई मृतकको परिवार, घाइते र घरबारबिहीन बनेकाहरुको चिन्ताले सताएको छ । क्यान्सर, मृगौला लगायतका जटिल रोगलाई जितेर यहाँसम्म आएका आचार्यको जीवन निकै संघर्षमय छ । उनको जीवन जति संघर्षमय छ उनी जनताको बीचमा पनि त्यत्तिकै लोकप्रिय छन् ।

निस्वार्थभावले राजनीतिमा लागेका उनी स्वच्छ छवि भएका सरल, इमान्दार र जुझारु नेता हुन् । सत्य र इमानको राजनीति गर्ने उनले सरकारमा रहँदा वा नरहँदा कहिल्यै इमान्दारिता र स्वाभिमान बेचेनन् । आचार्य जब मुख्यमन्त्री बने उनले कुनै नेताले गर्न नसक्ने थुप्रै काम गरेर एउटा इमान्दार र स्वाभिमानी नेताको रुपमा आफुलाई अब्बल साबित गरे । आफू मुख्यमन्त्री भएसँगै उनले पूर्व विशिष्ट पदाधिकारीलाई दिंदै आएको सवारी साधन, इन्धन, मर्मत फिर्ता गराए । सरकारी कार्यक्रम होटल रेष्टुरेन्टमा सञ्चालन नगरी सरकारी हलको प्रयोग गर्ने, सरकारी आवासको प्रयोग गर्ने, स्वागत, बिदाइ आतिथ्यता लगायतका कार्यक्रममा खादा, मालाको प्रयोग नगर्ने, ५ लाखभन्दा बढी रकम भएका आयोजना टेन्डर प्रकियाबाट सार्वजनिक प्रतिस्पर्धाका आधारमा गराउने, स्वकीय सचिवमा आफन्त र परिवारका सदस्यलाई नराख्ने, अति जरुरी बाहेक जिल्ला भ्रमण नगर्ने, भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता लागु गर्ने, कार्यालयमा गरिने दैनिक फजुल खर्च रोक्ने लगायतका खर्च कटौतीका निर्णय गरेर उनले प्रदेश सरकारको करोडौं रकम चुहावट हुन बाट जोगाए ।

आचार्य मुख्यमन्त्री भए पनि उनकी श्रीमती दीपा आचार्य धेरैजसो अर्घाखाँचीमै बस्थिन् । उनलाई मुख्यमन्त्रीकी श्रीमती भन्ने पटक्कै घमण्ड थिएन । बरु उनले जनतालाई कसरी सेवा पुर्‍याउन सकिन्छ भनेर दिनरात चिन्तित देखिन्थिन् । जनताको जीवनस्तरभन्दा कहिल्यै फरक हुन नचाहने उनले माछामासु समेत खान छोडेको धेरै वर्ष भएको थियो । अरु महिला नेतृहरुले महंगा लुगा र गहनामा सजिएर जाँदा पनि उनी सामान्य लुगा लगाएर कार्यक्रममा जान्थिन् । सामान्य पोशाक र सहजताका कारण उनलाई धेरैले रुचाउँछन् र मनमा लागेको कुरा ढुक्कले भन्छन् ।

श्रीमती आचार्यले करीब २८ वर्ष शिक्षण पेसा गरेर केहीवर्ष पहिले सेवा निवृत्त भएकी हुन् । पेशामा रहँदा उनी अब्बल शिक्षक थिइन् । उनले हरेक कठिन परिस्थितिमा पनि मेहनत गरेर विद्यार्थीलाई पढाइन् कुनै दिन आफ्नो शक्ति देखाइनन् । दैनिक डेढ घण्टाको बाटो हिँडेर शिक्षण गर्ने उनले खाइनखाई मुख मारेर थोरै-थोरै पैसा जम्मा गरेर सन्धिखर्क बजारभन्दा केही टाढा सन्धिखर्क-१ को हटारी नेटामा घर बनाइन् । २०६६ सालमा ऋण धन गरेर घर बनाउँदा उनले जीवनमा ठूलो खुसिको अनुभूति गरेकी थिइन् तर विडम्बना उनको २८ वर्षको जागिरे जीवन र श्रमबाट बनेको घर आज ध्वस्त भएको छ ।

श्रीमती आचार्यले बजारमा गएर प्रायः तरकारी किनिनन् । उनले आफ्नो परिवारलाई खानको लागि तरकारी घरमै उत्पादन गर्थिन् । उनले उत्पादन गरेको तरकारी उनको घर परिवारले मात्र नभएर मुख्यमन्त्री कार्यालय दाङ पठाएर मुख्य मन्त्रीका स्टाफसम्म पुग्थ्यो । उनले मुख्यमन्त्री कार्यालय दाङमा रहँदा पनि आफुलाई निरन्तर श्रममा जोडिन् । त्यहाँ बस्दा पनि उनले खानको लागि तरकारी उत्पादन गर्थिन् । आचार्यलाई धेरैले दयाकी खानी भन्छन् अरुलाई दु:ख पर्यो भने आफ्नो अरुको नभनी उनी तुरुन्त भेट्न जान्छिन् । आफू सक्दो सहयोग गर्छिन् र प्यारो समिप्यता र सान्त्वना दिएर फर्कन्छिन् । कुनै समस्यामा परे सबैले उनलाई सम्झन्छन् । उनीसँग बोल्दा पनि मनमा शान्तिको अनुभूति हुने स्थानीयको भनाइ छ ।

अहिले आचार्यको थात बास सबै सकिएको छ । थात बास नभए पनि जनताले देखाएको प्रेम र मायाले आफूलाई सान्त्वना मिलेको उनको भनाइ छ । उत्तेजनामा आएर आफूलाई घरबासबिहीन बनाए पनि आफूले कहिल्यै पनि अरुको कुभलो नचाहने उनको भनाइ छ । उनले स्थानीय बासिन्दाको बीचमा मनथाम्न नसकी बलिन्द्र आसुका थोपा चुँहाउँदा उपस्थित सयौंका आँखा रसाएका थिए । अझै उनी बोलेको भिडियो सार्वजनिक हुँदा धेरैजना भक्कानिएर रोए ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस