विमल याेगी

दाङ, १ फागुन । दाङकाे धारपानीमा यहि फागुन ३ गते लाग्ने महाशिवरात्री मेलाकाे तयारी अन्तिम चरणमा पुगेकाे छ ।

मन्दिर व्यवस्थापन समितिले आज मन्दिर परिसरमा पत्रकार सम्मलनकाे आयाेजना गरि भाेलिदेखी ४ गते सम्म लाग्ने मेलाकाे तयारी अन्तिम चरणमा पुगेकाे जानकारी दिएकाे छ । मेलालाई व्यवस्थित बनाउन विभिन्न १६ वटा उपसमिति गठन गरिएको छ  भने तीन सय ५१ जना स्वंयसेवक परिचालन गरिनेछ । फागुन ३ गते विहान ९:३७ बजेदेखि १०:३० बजेसम्म शिवपुजन तथा त्रिशुल सलामी दिने कार्यक्रम तय गरिएकाे छ।

समितिका अध्यक्ष गणेश कुमार अधिकारीकाे अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा मेलामा आउनका लागि बाटाेकाे खाल्डाखुल्डी पुरिएको र घाेराहीदेखि धारपानीसम्मका लागि भाडादर समेत निर्धारण गरिएको जानकारी गराइएको थियाे । जस अनुसार बसकाे लागि एकतर्फी ७५ रूपैया र अटाेका लागि १०० रूपैया भाडा ताेकिएकाे छ ।

मेलामा उच्छृङ्खल तथा अपराधजन्य गतिविधि हुन नदिनका लागि समितिले ताेकेकाे सिमाभित्र मदिरा तथा लागुपदार्थ बेचविखन र सेवन निषेध गरिएकाे समितिका अध्यक्ष गणेश कुमार अधिकारीले जानकारी दिनुभयाे ।

फागुन २ गतेदेखि ४ गते सम्म मन्दिरकाे पुर्वतर्फ रङघरा, उत्तरमा बवई नदि, दक्षिणमा पाण्डवेश्वर धार्मिक वन र पश्चिममा घाेराही धारपानी पर्यटन मार्गकाे कालाेपत्रे भागसम्म कसैले पनि मदिरा र लागुपदार्थ बेच्न र खान पाउने छैनन् । समितिले मेलालाई व्यवस्थित र प्रभावकारी बनाउन समितिका अध्यक्ष गणेश कुमार अधिकारीकाे संयाेजकत्वमा मूल व्यवस्थापन समिति गठन गरिएकाे छ । मेलामा भक्तजनकाे सहज पहुँचका लागि सडकमा परेका खाल्डाखुल्डी पुर्ने र मर्मत गर्ने काम सकिएकाे छ ।

मेलामा गाडीले अस्तव्यस्तता नहाेस भनि स:शुल्क पार्किङकाे व्यवस्था गरिएको छ । जसअनुसार ठुला बस र ट्रककाे प्रति पटक  ८० रूपैयाँ, मिनि बस र साना ट्रककाे ५० रूपैयाँ, कार तथा जिपकाे ३० रुपैयाँ,  ठुला टेक्टर र अटाेकाे २० रुपैयाँ, पावर टेलरकाे ४० रुपैयाँ र माेटरसाइकिलकाे १० रूपैयाँ पार्किङकाे व्यवस्था गरिएको समितिका सचिव तथा प्रचार प्रसार उपसमितिका संयाेजक विष्णुराम आचार्यले जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस