घोराही, १९ फागुन । नेवार सेवा समिति घोराहीको २६ औँ स्थापना दिवस एवम् होली मिलन कार्यक्रम मङ्गलबार घोराहीमा सम्पन्न भएको छ।

समितिका अध्यक्ष बिमलमान श्रेष्ठको अध्यक्षतामा एवम् पूर्व सांसद सुजिता शाक्यको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाक्यले नेवार संस्कृतिको संरक्षण र सम्बर्द्धनका लागि सामूहिक पहल आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालको समृद्धि र विकासमा नेवार समुदायको महत्वपूर्ण भूमिका रहेको बताउँदै नेवार सेवा समितिले समाजलाई गति दिनको लागि विभिन्न खाले सिर्जनशील कामहरू गरिरहेकोमा प्रशंसा गर्नुभयो।
समितिका वरिष्ठ उपाध्यक्ष लेखराज श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा पूर्व अध्यक्ष राजेन्द्र श्रेष्ठ, निशा देबुदानका अध्यक्ष रेनु श्रेष्ठ, नेवार सेवा समिति दाङका अध्यक्ष दिनेश श्रेष्ठ लगायतकाले बोल्नुभएको थियो। कार्यक्रमको सहजीकरण सचिव विवेक श्रेष्ठले गर्नुभएको थियो ।
स्थापना दिवसका अवसरमा निशा देबुको नयाँ कार्यसमितिलाई विशेष सम्मान गरिएको थियो। निशादेबु दाङका अध्यक्ष रेनु श्रेष्ठ, उपाध्यक्ष राधा श्रेष्ठ, महासचिव रजनी श्रेष्ठ, सचिव प्रीति श्रेष्ठ, कोषाध्यक्ष रन्जु श्रेष्ठ, सदस्यहरु रन्जिता श्रेष्ठ, सुमित्रा श्रेष्ठ, करुणा महर्जन, दुर्गा श्रेष्ठ र बालिका श्रेष्ठलाई प्रमुख अतिथि शाक्य लगायतकाले टीका खाँदा लगाएर सम्मान गर्नुभएको थियो । सो अवसरमा ब्याडमिन्टनमा स्वर्ण विजेता सुबिन श्रेष्ठलाई विशेष सम्मानपत्रले अभिनन्दन गरिएको थियो।












