दाङ, २६ जेठ । नेपाल संस्कृत विश्वविद्यालय (नेसंवि)मा ‘संस्कृत पाण्डुलिपि सम्पादनः सिद्धान्त, विधि र प्रयोगात्मक अभ्यास’ बिषयक तालिम शुरु भएको छ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा नेसंवि अनुसन्धान केन्द्रले मंगलबारदेखि दाङको बेलझुण्डीस्थित केन्द्रीय आयुर्वेद विद्यापीठमा पाँच दिने तालिम शुरु गरेको हो ।
महत्वपूर्ण संस्कृत पाण्डुलिपिहरु सम्पादन गरी पौराणीक ज्ञान बाँड्न तालिम आयोजना गरिएको विश्वविद्यालयका उपकुलपति सुधनकुमार पौडेलले बताए । कतिपय पुस्तकालय र बिभिन्न स्थानमा छरिएर रहेका पाण्डुलिपि खोजी गरी त्यसको उचित सम्पादन गर्ने सिप प्रदान गर्न तालिम उपयोगी हुने उनले बताए ।
कार्यक्रममा नेसंविका कूचलसचिव माधव अधिकारी, साँस्कृतिक अध्ययन केन्द्रका कार्यकारी निर्देशक टिकाराम बुढा, वनारस हिन्दु विश्वविद्यालयका संस्कृत विद्या धर्मविज्ञान संकायका डिन राजाराम शुक्ला र पाण्डुलिपि विशेषज्ञ विजय शंकर शुक्लाले पाण्डुलिपि सम्पादनको महत्वबारे प्रकाश पारेका थिए ।
कार्यक्रममा नेसंवि सेवा आयोगका पूर्व अध्यक्षहरु लेखनाथ आचार्य र श्रीधर शर्मा मजगैया, तुलसीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्का र नेसंवि सांस्कृतिक अध्ययन केन्द्रका कार्यकारी निर्देशक टिकाराम बुढाले संस्कृत शिक्षाको विकास र प्रवद्र्धनबारे धारणा व्यक्त गरेका थिए ।
यसैगरी उपप्राध्यापकहरु विनोद कुमार आचार्य, हरिलाल पौडेल, शिव प्रसाद न्यौपाने, रञ्जन सिग्देल, महेन्द्र भण्डारी र पुरुषोत्तम आचार्यले तालिमको महत्वबारे प्रकाश पारेका थिए । तालिममा बिभिन्न क्याम्पसका प्राध्यापक र अनुसन्धानकर्ताहरुको सहभागिता रहेको तालिम व्यवस्थापन समिति संयोजक उपप्राध्यापक पर्शुराम चौधरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस