दाङ, २७ जेठ । निर्वाचन आयोगले दाङको घोराही उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष मधुसुदन शर्माको पद स्वतः रिक्त भएको जनाएको छ। शर्माले दल त्याग गरी अन्य दलमा प्रवेश गरेको भन्दै आयोगले कानुनी व्यवस्था अनुसार उक्त पद रिक्त भएको निर्णय गरेको हो।
सूचनामा उल्लेख भए अनुसार, संवत् २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) बाट वडा अध्यक्ष पदमा निर्वाचित शर्माले दल परिवर्तन गरेको व्यहोरा नेकपा (एमाले) को केन्द्रीय समितिले निर्णय गरी आयोगलाई जानकारी गराएको थियो। एमाले केन्द्रीय सचिवालयको निर्णय र प्रतिलिपिसहितको आधिकारिक पत्रका आधारमा आयोगले जेठ २६ गते शर्मा निर्वाचित भएको पद स्वतः रिक्त भएको निर्णय गरेको हो।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ को कानुनी व्यवस्था अनुसार यो कदम चालिएको आयोगको विज्ञप्तिमा उल्लेख छ।
आयोगले राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम सम्बद्ध सबैको जानकारीका लागि जेठ २७ गते यो सूचना सार्वजनिक गरेको हो। शर्मासँगै ओखलढुङ्गा, पाल्पा, ललितपुर र मोरङका अन्य सात जना स्थानीय जनप्रतिनिधिहरूको पद पनि दल त्यागकै कारण रिक्त भएको आयोगको विवरणमा उल्लेख छ।











