दाङ, १९ साउन । नेकपा (एमाले)का महासचिव शंकर पोख्रेलले दङ्गाली कम्युनिष्ट आन्दोलनका नेता स्वर्गिय शोभाराम बस्नेतको निधनले पार्टीलाई ठुलो क्षति पुगेको बताउनुभएको छ । नेकपा (एमाले) दाङले आज बस्नेतको नवौँ दिनको अवसरमा आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हाे ।

नेकपा (एमाले)का पुर्व केन्द्रिय सल्लाहकार परिषद् सदस्य समेत रहनु भएका बस्नेतको कम्युनिष्ट आन्दोलनदेखि पार्टीप्रतिको भूमिकाका बारेमा चर्चा गर्दै उहाँकाे योगदानलाई भुल्न नसकिने बताउनुभयो । उहाँले स्वर्गीय बस्नेतले पन्चायतकालदेखि लोकतन्त्रसम्मको राजनतिक परिवर्तनमा महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो ।

आफुलाई कम्युनिष्ट नेताको रुपमा स्थापित गराउँदै सधैँ उहाँले ईमान र निष्ठाको राजनीतिबाटै जनताको मन जितेको उहाँले बताउनुभयो । लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहनुभएका पोख्रेलले नेताका रुपमा स्थापित र सफल हुनलाई जनताको मनोविज्ञानलाई बुझ्न सक्नुपर्ने बताउनुभयो । पछिल्लाे राजनितिक घटनाक्रम यसैको उदाहरण भएको उहाँले बताउनुभयो । पुराना दलले जनताको मनोभावना र मनोविज्ञानलाई नबुझ्दा चुनावको परिणाम सोचेभन्दा ठिक उल्टो भएको उहाँको भनाई थियाे । उहाँले शोभाराम बस्नेत जस्ता नेताहरुबाट पाठ सिकेर नेताहरुले आफुलाई परिमार्जन गर्दै समय सापेक्ष बनाउनुपर्ने जोड दिनुभएको थियाे ।

जिल्ला कमिटीका अध्यक्ष शिव कुमार आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज नरुलाल चौधरीले कम्युनिष्ट आन्दोलनका धरोहर शोभाराम बस्नेतको योगदानको चर्चा गर्दै उहाँको योगदान र ईतिहासलाई जिवित राख्नका लागि आफुले पहल गर्ने बताउनुभयो । यसका लागि पार्टीका नेताहरुसँग छलफल गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा केन्द्रिय अनुसासन आयोगका सदस्य छविलाल वली, नेपाली कांग्रेसका शिवहरी गौतम, नेपाली कम्युनिष्ट पार्टीका राम बहादुर दहित, राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य र नेपाल कम्युनिष्ट पार्टीका विकास वली लगायतले स्वर्गीय बस्नेतको व्यक्तित्व, राजनीतिक तथा सामाजिक जीवनका बारेमा चर्चा गर्नुभएको थियो । घरपरिवारको तर्फबाट स्वर्गीय बस्नेतका माइला छोरा मनोज बस्नेतले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

कार्यक्रमको सहजीकरण जिल्ला सचिव श्याम डाँगीले गर्नुभएको थियो । विगत लामो समयदेखि मृगौलाबाट पिडित बस्नेतको यहि साउन ११ गते ८० वर्षको उमेरमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस