घोराही, ३१ साउन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङले जिल्लाको शैक्षिक क्षेत्रको समग्र विकास, गुणस्तरीय शिक्षाको प्रवर्द्धन तथा विद्यालयहरूबीच सहकार्य र समन्वय अभिवृद्धि गर्ने उद्देश्यले विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा प्रधानाध्यापकहरूको आज आइतबार बृहत् भेला आयोजना गर्दैछ ।
प्याब्सन दाङले जारी गरेको प्रेस विज्ञप्तिअनुसार भेलामा ‘जर्नी टु जेनियस एक्स्पो–२०८३’ लगायत समसामयिक शैक्षिक विषयमा व्यापक छलफल, अन्तरक्रिया तथा आवश्यक रणनीति निर्माण गरिनेछ । विद्यार्थीहरूमा प्रतिभा, सिर्जनशीलता, वैज्ञानिक सोच, नवप्रवर्तन तथा व्यावहारिक ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले एक्स्पोलाई सफल, प्रभावकारी र उपलब्धिमूलक बनाउने विषयमा भेलामा विशेष छलफल हुनेछ ।
‘जर्नी टु जेनियस एक्स्पो–२०८३’ आगामी असोज ९, १० र ११ गते घोराहीमा आयोजना हुने प्याब्सन दाङले जनाएको छ । विद्यार्थीभित्र लुकेका प्रतिभा र सम्भावनाको पहिचान गरी प्रोत्साहन गर्ने, नयाँ पुस्तामा अनुसन्धान, खोज, सिर्जना र नवप्रवर्तनको संस्कार विकास गर्ने तथा शिक्षा र प्रतिभालाई समाजसँग जोड्ने महत्वपूर्ण अवसरका रूपमा एक्स्पोलाई अघि बढाइएको विज्ञप्तिमा उल्लेख छ ।
भेलामा एक्स्पोको उद्देश्य, स्वरूप, कार्यक्रमका विषयवस्तु, विद्यालयहरूको सहभागिता, विद्यार्थी तथा शिक्षकको भूमिका र व्यवस्थापकीय तयारीबारे आवश्यक छलफल गरिनेछ । साथै जिल्लाको गौरवपूर्ण शैक्षिक अभियानका रूपमा एक्स्पोलाई स्थापित गर्न विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावक तथा सरोकारवालाबीच सहकार्य र समन्वयमा जोड दिइनेछ ।
प्याब्सन दाङले जिल्लाका सम्पूर्ण विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा प्रधानाध्यापकहरूलाई भेलामा सक्रिय सहभागिताका लागि आग्रह गरेको छ । विद्यालय नेतृत्वको सामूहिक सहभागिता, सहकार्य र साझा प्रतिबद्धताबाट मात्र ‘जर्नी टु जेनियस एक्स्पो–२०८३’ लाई अपेक्षित उद्देश्यअनुरूप सफल बनाउन सकिने विश्वास प्याब्सनले व्यक्त गरेको छ ।
‘प्रतिभाको खोज, सिर्जनाको सम्मान र सम्भावनाको उजागर’ भन्ने भावनाका साथ आयोजना हुन लागेको एक्स्पोमा विद्यार्थी, विद्यालय, अभिभावक, शिक्षाप्रेमी तथा सम्पूर्ण सरोकारवालाको रचनात्मक साथ र सहयोगका लागि प्याब्सन दाङले अपिलसमेत गरेको छ ।











