घोराही, ६ असाेज। ‘सरकार, कोठा खाली छ’ भन्ने नारासहित दाङका अधिकारकर्मीहरू सडकमा उत्रिएका छन्। काठमाडौँमा दिपा नेपालीले सुरु गरेको सत्याग्रह आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै अधिकारकर्मीहरूले घोराहीको भानुचोकमा प्रदर्शन गरेका हुन्।
दलित अधिकारकर्मी केशव नेपालीको अध्यक्षता तथा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सविन प्रियासनको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। सहभागीहरूले विभिन्न माग र नारासहितका प्लेकार्ड तथा ब्यानर प्रदर्शन गर्दै दिपा नेपालीले सुरु गरेको सत्याग्रहप्रति ऐक्यबद्धता जनाएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सविन प्रियासनले नागरिकका जायज आवाज र मागलाई राज्यले गम्भीरतापूर्वक सुन्नुपर्ने बताउनुभयो। उहाँले लोकतान्त्रिक व्यवस्थामा नागरिकले आफ्ना समस्या र माग शान्तिपूर्ण रूपमा राख्न पाउने अधिकार सुनिश्चित हुनुपर्ने बताउनुभयो।
प्रियासनले सत्याग्रहलाई केवल विरोधका रूपमा नभई राज्यलाई नागरिकका समस्या सम्झाउने लोकतान्त्रिक माध्यमका रूपमा लिनुपर्ने धारणा राख्नुभयो। उहाँले भन्नुभयो, “सरकार नागरिकका समस्या सुन्ने र समाधान खोज्ने ठाउँ हो। नागरिकले सरकार खोज्दै सडकमा आउनुपर्ने अवस्था अन्त्य गर्न राज्य जिम्मेवार र जवाफदेही बन्नुपर्छ।”
उहाँले नागरिकका आवाजलाई बेवास्ता गर्नुको सट्टा सम्बन्धित पक्षसँग संवाद र छलफल गरी समाधान खोज्नुपर्नेमा जोड दिनुभयो। शान्तिपूर्ण रूपमा उठाइएका आवाजलाई सम्मान गर्दै सरकारले नागरिकको विश्वास कायम गर्ने वातावरण बनाउनुपर्ने उहाँको भनाइ थियो।
दलित अधिकारकर्मी केशव नेपालीले अध्यक्षता गरेको कार्यक्रममा सहभागी अधिकारकर्मीहरूले सामाजिक न्याय, समानता, अधिकार र राज्यको जवाफदेहिताका सवालमा आवाज उठाएका थिए। उनीहरूले काठमाडौँमा जारी सत्याग्रहप्रति दाङबाट ऐक्यबद्धता जनाउँदै नागरिकका आवाजप्रति सरकारको ध्यानाकर्षण गराएका हुन्।
घोराहीको भानुचोकमा भएको प्रदर्शनमा अधिकारकर्मी, सामाजिक अभियन्ता तथा विभिन्न क्षेत्रका नागरिकहरूको सहभागिता रहेको थियो।












