घोराही, ६ असोज । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त शिक्षाध्यक्ष प्रा. डा. रामनारायण मण्डलले सोमबार प्रतिष्ठानमा उपस्थित भई पदभार ग्रहण गर्नुभएको छ।
पदभार ग्रहणसँगै प्रतिष्ठानका उपकुलपति प्रा. डा. अजयकुमार मिश्र, रजिस्ट्रार प्रा. श्याम लम्साल र अस्पताल निर्देशक सहप्रा. डा. सुरेश रसाइलीले शिक्षाध्यक्ष मण्डललाई स्वागत तथा बधाई ज्ञापन गर्नुभएको हो। उहाँहरू तीनै जनाले शिक्षाध्यक्ष मण्डललाई खादा तथा पुष्पगुच्छाले स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिनुभएको थियो।
सो अवसरमा उपकुलपति प्रा. डा. मिश्रले शिक्षाध्यक्षको जिम्मेवारी महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रतिष्ठानको शैक्षिक तथा प्राज्ञिक उन्नतिमा नवनियुक्त शिक्षाध्यक्षको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। उहाँले प्रतिष्ठानको शैक्षिक गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सबै पक्षबीच सहकार्य र समन्वय आवश्यक रहेको बताउँदै नवनियुक्त शिक्षाध्यक्षलाई पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
रजिस्ट्रार प्रा. श्याम लम्सालले शिक्षाध्यक्ष मण्डलको आगमनले प्रतिष्ठानको शैक्षिक तथा प्रशासनिक गतिविधिलाई थप गतिशील बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सफल कार्यकालका लागि शुभकामना दिनुभयो। उहाँले प्रतिष्ठानको उद्देश्य प्राप्तिका लागि पदाधिकारी, शिक्षक तथा कर्मचारीबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।
त्यसैगरी अस्पताल निर्देशक सहप्रा. डा. सुरेश रसाइलीले शिक्षाध्यक्ष मण्डललाई स्वागत गर्दै प्रतिष्ठानको शैक्षिक कार्यक्रमसँगै अस्पतालको सेवा र चिकित्सा शिक्षालाई थप प्रभावकारी बनाउन सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले नवनियुक्त शिक्षाध्यक्षसँग सहकार्य गर्दै प्रतिष्ठानको समग्र विकासमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
स्वागतपछि शिक्षाध्यक्ष प्रा. डा. रामनारायण मण्डलले प्रतिष्ठानमा पदभार ग्रहण गर्दै आफ्नो जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्ने बताउनुभएको थियो। उहाँले प्रतिष्ठानको शैक्षिक गुणस्तर अभिवृद्धि, चिकित्सा शिक्षा तथा प्राज्ञिक गतिविधिको विकासका लागि सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।












