दाङ, ७ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मी बढिरहँदा घोराही उपमहानगरपालिका कार्यसमितिको सचिव पदमा सनत गिरीले आफ्नो उम्मेदवारी दिनुभएको छ। नगर नेतृत्व चयनका लागि अधिवेशन प्रक्रिया अगाडि बढिरहेका बेला गिरीको उम्मेदवारीले घोराही कांग्रेसको साङ्गठनिक वृत्तमा नयाँ तरङ्ग ल्याएको छ।

लामो समयदेखि स्थानीय स्तरको पार्टी काममा सक्रिय गिरी यसअघि घोराही–१३ को वडा सचिव हुनुहुन्थ्यो। वडास्तरमा रहेर साङ्गठनिक जिम्मेवारी सफलतापूर्वक सम्हाल्नुभएका उहाँले आफूलाई पालिका तहको नेतृत्वमा स्थापित गर्ने लक्ष्यका साथ यो कदम चालेको बताउनुभयो ।

पार्टीका निर्णयहरू कार्यान्वयन गराउने, दैनिक गतिविधि तथा बैठकहरूको व्यवस्थापन गर्ने र कार्यकर्ताहरूसँग निरन्तर संवाद कायम राख्ने दृष्टिले नगर सचिवको भूमिकालाई महत्वपूर्ण मानिन्छ। वडा तहमा टोल र कार्यकर्तासँग प्रत्यक्ष जोडिएर काम गर्नुभएको अनुभवका आधारमा नगर सचिवका रूपमा पार्टीको साङ्गठनिक संरचनालाई थप सुदृढ र गतिशील बनाउने उहाँको योजना छ।

वडादेखि नगर तहसम्म प्रभावकारी समन्वय गर्ने, कार्यकर्ता परिचालनलाई व्यवस्थित बनाउने र पार्टीका एजेन्डालाई तल्लो तहसम्म पुर्‍याउने क्षमताका कारण गिरीको यो उम्मेदवारीलाई उहाँको राजनीतिक यात्राको एक महत्वपूर्ण चरणका रूपमा हेरिएको छ।उहाँ सचिव रहेको प्यानलको सभापतिमा विद्यार्थी राजनीतिदेखि नै निरन्तर सक्रिय रहनुभएका कुशल सङ्गठनकर्ता एवं लोकप्रिय युवा नेता तिलक रावत, उपसभापतिमा व्यावसायिक क्षेत्रमा लामो अनुभव सँगाल्नुभएका दाङ उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष बसन्त जोशी, त्यसैगरी अर्का उपसभापतिमा शिक्षित तथा कुशल व्यवस्थापक तारा कँडेल आचार्य र सहसचिवमा कर्मठ एवं इमानदार व्यक्तित्व भीम बोहरा जस्ता स्थापित अनुहारहरू रहनुभएको छ ।

विद्यार्थी राजनीतिबाट आएका युवा, उद्योग-व्यवसाय र सामाजिक संघ-संस्थामा योगदान पुर्‍याएका प्रबुद्ध व्यक्तित्वहरू सहितको यो प्रयासले पार्टीको साङ्गठनिक समन्वय, कार्यकर्ता परिचालन र निर्णय कार्यान्वयनलाई अझ व्यवस्थित र चलायमान बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस