काठमाडौं, ८ असाेज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले भोटेकोशी बाढीपीडितका लागि रु. २० करोड ८९ लाख २ हजार ९७० बराबरको राहत सहयोग जुटाएको जनाएको छ।
प्याब्सन केन्द्रीय कार्यसमितिले जारी गरेको प्रेस विज्ञप्तिअनुसार २०८३ भदौ १० गते बुधबार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि प्रभावित परिवारप्रति दुःख व्यक्त गर्दै राहत तथा पुनर्स्थापनामा सहयोग गर्ने उद्देश्यले देशभरका प्याब्सन सदस्य विद्यालय, शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा शुभेच्छुकबाट राहत रकम संकलन गरिएको हो।
प्याब्सनका अनुसार संकलित तथा राहत प्रयोजनका लागि छुट्याइएको रकममध्ये भदौ २६ गते अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. १२ करोड हस्तान्तरण गरिएको थियो। त्यस्तै, असोज ७ गते शिक्षा मन्त्री सुमित पोखरेलमार्फत रु. ३ करोड ३९ लाख २ हजार ९७० राहत कोषमा हस्तान्तरण गरिएको विज्ञप्तिमा उल्लेख छ।
बाढीबाट पूर्ण क्षति भएका ३ वटा तथा आंशिक क्षति भएका २ वटा विद्यालयका लागि रु. २ करोड छुट्याइएको छ। यसैगरी प्याब्सनका सदस्य विद्यालयहरूले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा प्रत्यक्ष रूपमा रु. ३ करोड ५० लाख सहयोग गरेको जनाइएको छ।
यसरी प्याब्सनको पहल तथा सदस्य विद्यालयहरूको प्रत्यक्ष सहयोगसमेत गरी बाढीपीडितका लागि कुल रु. २० करोड ८९ लाख २ हजार ९७० बराबरको राहत सहयोग भएको प्याब्सनले जनाएको छ।
विज्ञप्तिमा प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ। साथै बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता नागरिकहरूको खोजी तथा उद्धारमा सरकारले कुनै कसर बाँकी नराख्न आग्रह गरिएको छ।
प्याब्सनले विपद्को समयमा शिक्षा क्षेत्रको विकाससँगै सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि बाढी प्रभावित क्षेत्रका बालबालिकाको शिक्षालाई निरन्तरता दिन आवश्यक शैक्षिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
राहत अभियानमा स्वस्फूर्त सहयोग गर्ने प्याब्सन सदस्य विद्यालयका सञ्चालक, शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकप्रति प्याब्सनले आभार व्यक्त गरेको छ। साथै विपद्को समयमा सूचना तथा समाचार सम्प्रेषणमार्फत जनचेतना अभिवृद्धि र राहत अभियानमा सहयोग गर्ने सञ्चारकर्मी तथा सञ्चारमाध्यमलाई पनि धन्यवाद ज्ञापन गरेको छ।











