घोराही, २८ माघ । दाङ महिला जेसीजकाे आयाेजनामा सकारात्मक साेच र लक्ष्य प्राप्ति विषयक उत्प्रेरणात्मक तालिम बुधबार सम्पन्न भएकाे छ। मेचिकाली आवासीय माध्यमिक विद्यालयमा आयाेजना गरिएकाे तालिममा व्यवस्थापन संकायका कक्षा ११ र १२ का विद्यार्थीहरूकाे सहभागीता रहेकाे थियाे ।
दाङ महिला जेसीज वर्ष २०२६ की अध्यक्ष अर्चना शर्माकाे अध्यक्षता एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्म बहादुर केसीकाे प्रमुख अतिथ्यता तथा विद्यालयका प्रिन्सिपल चक्र बहादुर रावतकाे विशिष्ट अतिथ्यतामा तालिम सञ्चालन गरिएकाे थियाे।

जेसी सरस्वती वली केसीकाे आस्थापाठ तथा कार्यक्रम संयोजक एवम् शाखा सम्पादक जेसी पिया रोकाकाे स्वागत मन्तव्यबाट सुरु भएकाे तालिमका प्रमुख अतिथि केसीले विद्यार्थीहरूलाई उत्प्रेरणामूलक कार्यक्रमले भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएकाे थियाे । तालिमका विशिष्ट अतिथि चक्र बहादुर रावतले जेसिजले युवा सशक्तिकरणका क्षेत्रमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो।
तालिमका प्रमुख प्रशिक्षक त्रिभुवननगर जेसिजका पूर्व अध्यक्ष तथा नेपाल जेसिजका पूर्व कार्यकारिणी उपाध्यक्ष एवं पूर्व महासचिव निशान्त आचार्यले सकारात्मक सोच, स्पष्ट लक्ष्य निर्धारण, समय व्यवस्थापन र आत्मविश्वासको महत्वका बारेमा विद्यार्थीहरुलाई प्रशिक्षण दिनुभएको थियो। प्रशिक्षणका क्रममा उहाँले विद्यार्थीहरूलाई जीवनमा स्पष्ट लक्ष्य तय गरी निरन्तर प्रयास र सकारात्मक दृष्टिकोणका साथ अघि बढे सफलता प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो।
तालिमका अवसरमा दाङ महिला जेसीज वर्ष २०२६ की कार्यकारिणी उपाध्यक्ष जेसी आरधना सिंह ठकुरीले दाङ महिला जेसीज, जेसीज अभियानका उद्देश्य र जेसीज गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो।
कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो भने तालिमले विद्यार्थीहरूमा सकारात्मक सोचकाे विकास गर्दै लक्ष्यप्रति प्रतिबद्ध बन्न प्रेरणा दिएको आयोजकले जनाएको छ।












