घाेराही, ६ बैशाख । हरेक वर्ष जेसीज सप्ताह सञ्चालन गर्दै आएकाे त्रिभुवननगर जेसीजले आजदेखि जेसीज सप्ताह – २०२५ उद्घाटन गरेकाे छ ।

घाेराही उपमहानगरपालिका १० नारायणपुरस्थित मानव कल्याण समाज (सेवा घर) लाई विभिन्न उपभाेग्य सामग्रीहरु सहयोग तथा सेवा आश्रितहरूलाई भोजन गराउँदै सप्ताहको सुरुवात गरिएको हाे ।

त्रिभुवननगर जेसीज वर्ष २०२५ का अध्यक्ष जेसी टंक बहादुर रावत (अनन्त)को अध्यक्षता एवम् लुम्बिनी प्रदेश सरकारका उर्जा, जलस्रोत तथा सिचाइ मन्त्री सीता शर्मा चौधरीकाे प्रमुख अतिथ्यतामा सप्ताहकाे विधिवत् उद्घाटन गरिएकाे थियाे ।

कार्यक्रममा प्रमुख अतिथि मन्त्री चौधरीले युवाहरूमार्फत समाजमा सकारात्मक परिवर्तन सम्भव हुने बताउँदै जेसीजले नेतृत्व विकास, सामाजिक चेतना र सेवा भावनाको प्रवर्द्धनमा खेल्दै आएको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, “जेसीज जस्ता संस्थाहरूले युवा पुस्तालाई सामाजिक उत्तरदायित्वबोधसहित नेतृत्वको मार्गमा अघि बढाइरहेका छन्, जुन अत्यन्त प्रशंसनीय छ। मानव सेवा, सहानुभूति र आत्मीयताको भावनाले समाजलाई जोड्ने काम गर्छ, र आजको कार्यक्रम त्यसको उत्कृष्ट उदाहरण हो। यस्ता संस्थाहरूसँग सरकार निरन्तर सहकार्य गर्न तत्पर छ।”

उद्घाटन समाराेहमा त्रिभुवननगर जेसीजको वार्षिक क्यालेन्डर २०८२ को विमोचन समेत गरिएको थियो । साे अवसरमा जेसीज सप्ताह- २०२५ का मूल संयाेजक जेसी बाबुराम पाण्डेले सप्ताहव्यापी कार्यक्रमहरुका बारे प्रकाश पार्नुभएकाे थियाे । मूल संयाेजक पाण्डेका अनुसार सप्ताहकाे पहिलाे दिन बैशाख ६ गते शनिबार सप्ताह उद्घाटन समाराेह रहेकाे र उक्त अवसरमा मानव सेवा आश्रमलाई सहयाेग तथा सेवाश्रितलाई भाेजन रहेकाे थियाे । यसैगरी सप्ताहकाे दाेस्राे दिन बैशाख ७ गते आइतबार बिहान ८ बजे घाेराही १७ कर्जाहीस्थित निर्णय पुनःस्थापना केन्द्रमा लागू औषध विरुद्ध उत्प्रेरणा कार्यक्रम रहेकाे पाण्डेले बताउनुभयाे ।

सप्ताहकाे तेस्राे दिन बैशाख ८ गते साेमबार बिहान ८ बजे जेसीज सचिवालयमा भ्याट तथा ट्याक्स सचेतना कार्यक्रम र बैशाख ९ गते मंगलबार जेसीज सचिवालयमा दिनकाे १ बजे जलवायु परिवर्तन सम्बन्धि सचेतना कार्यक्रम रहने पाण्डेले बताउनुभयाे । मूल संयाेजक पाण्डेका अनुसार बैशाख १० गते अपरान्ह ३ बजे स्थानिय सरकारसँग जेसीज कार्यक्रम अन्तर्गत घाेराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चाैधरीसँग जेसीज सचिवालयमा जेसीज टक शाे रहने छ ।

यसैगरी सप्ताहकाे छैठौं कार्यक्रम अन्तर्गत बैशाख १२ गते शुक्रबार बिहान ८ बजे सचिवालयमा व्यवसायीक अन्तर्क्रिया रहने छ भने बैशाख १३ गते शनिबार साहित्यिक रसपानसहित जेसीज सप्ताह बाह्रकुने दहमा समापन गरिने पाण्डेले बताउनुभयाे ।

सप्ताह उद्घाटन समारोहका संयाेजक जेसी राजन घर्ती मगरकाे स्वागत मन्तव्यबाट सुरुभएकाे कार्यक्रममा नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष अनिल बस्नेत, तुलसीपुर जेसीजका अध्यक्ष जेसी सन्दिप भुसाल, त्रिभुवननगर जेसीजका पूर्व अध्यक्ष तथा २०२५ का आन्तरिक लेखा परीक्षण समिति संयोजक जेसी दीपक शर्माले शुभकामना मन्तव्य राख्नुभएको थियाे ।

उक्त कार्यक्रमको सहजिकरण त्रिभुवननगर जेसीज वर्ष २०२५ का महासचिव जेसी कृष्णदेव थापा मगरले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस