जेठ २०, काठमाण्डौ — आगामी महिना आयोजना हुने एएफसी महिला एशियन कप छनोटको तयारीमा रहेको  नेपाली महिला राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा थाइल्यान्डसँग २–० गोलले पराजय बेहोरेको छ।

हिजो बैंककमा सम्पन्न उक्त खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। तर, दोस्रो हाफमा नेपालले खेलमा पकड जमाउन सकेन। खेलको ५९औं मिनेटमा थाइल्यान्डले फ्रिकिकमार्फत अग्रता लिएको थियो।

झन्डै ३० यार्ड दूरीबाट मोंग्कोल्दीले प्रहार गरेको फ्रिकिकमा नेपाली कप्तान एन्जिला तुम्बापो सुब्बा बलसम्म पुग्न नसक्दा गोल भएको थियो।

त्यसपछि खेलको ७५औं मिनेटमा थाइल्यान्डले काउन्टर अट्याकमार्फत दोस्रो गोल थप्दै अग्रता दोब्बर बनायो। यसअघि भएको क्लोज डोर मैत्रीपूर्ण खेलमा पनि नेपाल १–० ले पराजित भएको थियो।

नेपालले आगामी महिना उज्वेकिस्तानमा हुने एएफसी महिला एशियन कप छनोट खेलमा आयोजक टिम उज्वेकिस्तान, लाओस र श्रीलङ्कासँग प्रतिस्पर्धा गर्नेछ।

चार टोली सम्मिलित समूहमा शीर्ष स्थान हासिल गर्ने टिमले सन् २०२६ मा अष्ट्रेलियामा हुने महिला एशियन कपमा स्थान सुरक्षित गर्नेछ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस