घोराही, १४ असोज । घोराही उपमहानगरपालिका–५ बसन्तापुरस्थित त्रिवेणी टोल विकास संस्थामा स्थानीयवासीको अगुवाइमा व्यवस्थित फुटबल मैदान निर्माण कार्य सुरु भएको छ। बुट्यान, भिरालो तथा खाल्डाखुल्डी रहेको जग्गालाई सदुपयोग गर्दै भविष्यमा सुविधासम्पन्न खेलमैदान तथा स्टेडियम निर्माण गर्ने लक्ष्यसहित स्थानीयवासीले काम अघि बढाएका हुन्।

मैदान निर्माणका विषयमा बुधबार बिहान नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनसँग स्थानीयवासीले विशेष छलफल गरेका छन्। छलफलका क्रममा प्रियासनले मैदान निर्माणलाई व्यवस्थित रूपमा अघि बढाउन आवश्यक दर्ता प्रक्रियामा सहयोग गर्ने तथा निर्माण अभियानको व्यापक प्रचारप्रसारमा आफ्नो साथ र समर्थन रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले मैदान निर्माणका लागि आवश्यक आर्थिक स्रोत जुटाउन तथा सम्बन्धित सरोकारवाला निकायलाई सहभागी गराउन आफ्नो तर्फबाट पहल गर्ने बताउनुभयो। स्थानीयवासीको सक्रियता र सामूहिक प्रयासबाट निर्माण सुरु भएको खेलमैदानलाई भविष्यमा व्यवस्थित र सुविधासम्पन्न बनाउने गरी योजना बनाउनुपर्ने उहाँको भनाइ थियो। “स्थानीयवासी आफैँ अघि बढेर सुरु गरेको यस्तो कामले गाउँको विकाससँगै युवाको खेल प्रतिभा विकासमा पनि योगदान पुर्‍याउँछ,” प्रियासनले भन्नुभयो, “मैदान निर्माणलाई व्यवस्थित ढंगले अघि बढाउन आवश्यक सहयोग र समन्वयका लागि आफ्नो तर्फबाट पहल गर्नेछु।”

भिरालो जमिन सम्याउँदै मैदानको स्वरूप दिइँदै
हाल मैदान निर्माणअन्तर्गत जग्गा सम्याउने, खाल्डाखुल्डी पुर्ने तथा खेलमैदानको प्रारम्भिक स्वरूप तयार गर्ने काम भइरहेको छ। स्थानीयवासीले भविष्यमा स्टेडियमसमेत बनाउन सकिने गरी मैदानको संरचना विकास गर्ने योजना बनाएका छन्।

निर्माण समितिका संयोजक दिल विक्रम पछाइले स्थानीयवासीको सामूहिक प्रयासबाट असम्भवजस्तो देखिएको ठाउँलाई खेलमैदानका रूपमा विकास गर्न थालिएको बताउनुभयो। “पहिले यो ठाउँ बुट्यान, भिरालो र खाल्डाखुल्डीले भरिएको थियो। अहिले स्थानीयवासी आफैँ जुटेर मैदान बनाउने अभियान सुरु गरेका छौँ,” उहाँले भन्नुभयो, “हाम्रो लक्ष्य अहिले मैदान बनाउने मात्र होइन, भविष्यमा यही ठाउँलाई सुविधासम्पन्न खेलकुद केन्द्रका रूपमा विकास गर्नु हो।”

उहाँले निर्माण कार्यलाई चरणबद्ध रूपमा अघि बढाउने र सबै पक्षको सहयोग जुटाएर मैदानलाई पूर्णता दिने बताउनुभयो।
आठ लाखभन्दा बढी खर्च, सहयोग जुटाउने अभियान तीव्र
स्थानीयवासीको सहयोगबाट हालसम्म मैदान निर्माणमा आठ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ। त्यसैगरी वडा क्षेत्रभित्रका विभिन्न दाताबाट करिब पाँच लाख रुपैयाँको हाराहारीमा आर्थिक सहयोग प्राप्त भएको स्थानीयवासीले बताएका छन्।

मैदानलाई पूर्ण स्वरूप दिन थप ठूलो रकम आवश्यक पर्ने भएकाले स्थानीयवासीले सरकारी निकाय, निजी क्षेत्र, सामाजिक संघसंस्था तथा सहयोगी व्यक्तिहरूलाई सहयोगका लागि आह्वान गरेका छन्। आर्थिक समितिका संयोजक प्रेम प्रकाश केसीले मैदान निर्माणका लागि स्थानीयस्तरबाट राम्रो सहयोग प्राप्त भइरहेको बताउँदै आगामी दिनमा सहयोग अभियानलाई अझ व्यवस्थित बनाइने बताउनुभयो।

“अहिलेसम्म स्थानीय दाता र शुभेच्छुकहरूको सहयोगबाट काम अघि बढेको छ। तर मैदानलाई पूर्ण रूपमा तयार गर्न अझै ठूलो आर्थिक स्रोत आवश्यक छ,” उहाँले भन्नुभयो, “सबैलाई जोडेर पारदर्शी रूपमा आर्थिक सङ्कलन गर्ने र प्राप्त सहयोगलाई मैदान निर्माणमै प्रयोग गर्ने हाम्रो योजना छ।”

उहाँका अनुसार आर्थिक स्रोत जुटाउन भैलो खेल्ने, महायज्ञ सञ्चालन गर्ने, चन्दा सङ्कलन गर्ने तथा विभिन्न सहयोग अभियान सञ्चालन गर्ने तयारी गरिएको छ।
मैदान दर्ता गरेर व्यवस्थित रूपमा अघि बढाइने
मैदान निर्माण कार्यलाई संस्थागत रूपमा अघि बढाउन निकट भविष्यमा निर्माण समिति गठन गरी सम्बन्धित निकायमा दर्ता गर्ने तयारीसमेत गरिएको छ। मैदानको नामकरण गरी आवश्यक प्रक्रिया पूरा गरेर दीर्घकालीन योजनासहित काम अघि बढाउने स्थानीयवासीको लक्ष्य छ।

निर्माण समितिका संयोजक पछाइले मैदानलाई व्यक्तिको प्रयासमा मात्र सीमित नराखी सम्पूर्ण समुदायको साझा सम्पत्तिका रूपमा विकास गर्न खोजिएको बताउनुभयो।
“यो मैदान कुनै व्यक्ति वा समूहको मात्र होइन, सम्पूर्ण समुदायको हो। त्यसैले सबैको सहभागिता र अपनत्व हुने गरी अघि बढाउन चाहन्छौँ,” उहाँले भन्नुभयो, “आज हामीले मैदान बनाउने काम सुरु गरेका छौँ, भोलि यही ठाउँमा ठूला खेलकुद गतिविधि सञ्चालन गर्ने हाम्रो सपना छ।”
युवालाई खेलकुदमा जोड्ने उद्देश्य
जनसेवा सामुदायिक वनका अध्यक्ष श्रीधर बुढाथोकी, शिवशक्ति खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष भीमबहादुर केसी, त्रिवेणी टोल विकास संस्थाका सचिव मोहनसिंह पछाईलगायत विभिन्न सामाजिक संघसंस्थामा सक्रिय व्यक्तिहरूले मैदान निर्माण कार्यलाई जसरी पनि सम्पन्न गर्नुपर्ने धारणा राखेका छन्।

स्थानीयवासीका अनुसार खेलमैदान निर्माणको मुख्य उद्देश्य युवालाई खेलकुदतर्फ आकर्षित गर्नु, उनीहरूलाई कुलतबाट टाढा राख्नु र स्थानीय प्रतिभालाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर सिर्जना गर्नु हो।

“युवालाई खेलकुदमा जोड्न सकियो भने उनीहरूको ऊर्जा सकारात्मक काममा प्रयोग हुन्छ। गाउँमै राम्रो मैदान भयो भने खेलाडी उत्पादन गर्न पनि सहज हुन्छ,” स्थानीयवासीको भनाइ छ।

मैदान निर्माण भएपछि बसन्तापुर क्षेत्रको खेलकुद गतिविधि विस्तार हुनुका साथै गाउँलाई खेलकुदका माध्यमबाट समेत चिनाउन सकिने उनीहरूको विश्वास छ।
‘आज मैदान, भोलि स्टेडियम’
स्थानीयवासीले हालको निर्माणलाई सुरुवाती चरणका रूपमा लिएका छन्। उनीहरूको लक्ष्य आगामी दिनमा दर्शक बस्ने स्थान, खेलाडीका लागि आवश्यक पूर्वाधार, व्यवस्थित मैदान तथा अन्य खेलकुद संरचनासहितको सुविधासम्पन्न स्टेडियम निर्माण गर्नु हो।

“हामीसँग भएको जग्गालाई खेर जान नदिएर खेलमैदानका रूपमा विकास गर्न खोजेका हौँ,” स्थानीयवासीले भने, “सबैको साथ र सहयोग भयो भने यो ठाउँमा भविष्यमा सुविधासम्पन्न स्टेडियम बनाउन सकिन्छ।”

स्थानीयवासीको सामूहिक पहलबाट सुरु भएको उक्त खेलमैदानलाई दीर्घकालीन रूपमा व्यवस्थित खेलकुद केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। त्यसका लागि सरकारी तथा गैरसरकारी क्षेत्र, स्थानीय जनप्रतिनिधि, उद्योगी–व्यवसायी, सामाजिक संघसंस्था तथा देश–विदेशमा रहेका सहयोगी मनहरूलाई अभियानमा जोड्ने तयारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस