रौतहट, २१ जेठ । रौतहट जिल्लाका ग्रामीण क्षेत्रहरूमा अवैध मदिरा भट्टी सञ्चालन भइरहेकाले स्थानीयको जनस्वास्थ्यमा गम्भीर समस्या देखापरेको छ। स्थानीय प्रहरी प्रशासनले यस्ता अवैध भट्टी नियन्त्रण गर्न नसक्दा अवैध मदिराको उत्पादन र वितरण दिनप्रतिदिन बढ्दो छ।
राजपुर, मठिया, महादेवपट्टी, झुनखुनुवा, चन्द्रपुरलगायतका दर्जनौँ स्थानमा प्रहरी प्रशासनको मिलेमतोमा अवैध मदिरा खुलेआम बिक्री वितरण भइरहेको स्थानीयवासीहरू बताउँछन्। खुलेआम हुने यस्तो अवैध कारोबारले कानुनी अनुमति प्राप्त मदिरा व्यवसायमा समेत प्रत्यक्ष असर परिरहेको छ।
भारतको बिहार राज्यमा मदिरामाथि प्रतिबन्ध लगाइएको हुँदा सीमावर्ती भारतीय जिल्ला पूर्वी चम्पारण, पश्चिम चम्पारणलगायत स्थानका मदिराप्रेमीहरू समेत रौतहटमा आएर मदिरा सेवन गर्ने गरेका छन्। नेपाल प्रहरीका केही घुमुवा कर्मचारीहरूले अवैध मदिरा भट्टीहरूलाई ‘लाइन’ दिएको आरोप समेत स्थानीयहरूले लगाएका छन्, जसले जनस्वास्थ्यमा थप नकारात्मक असर पुर्याएको छ।
बौधीमाई नगरपालिका–४ स्थित इरनवारीमा अवैध घरेलु मदिरा उत्पादन गर्दै आएका रामप्रताप अरविन्द जयसवाल, रुपेश यादवलगायतका व्यक्तिहरू इलाका प्रहरी कार्यालय कोपवा पिपरियाको संरक्षणमा यस्तो कारोबार गर्दै आएको स्थानीय कमल यादवले जानकारी दिएका छन्।
नेपाल–भारत सीमा जोडिएका बजारहरू मठिया, रामपुरखाप, औरहिया, बन्जरहा, नरकटिया, बंकुलबजार आदि क्षेत्रमा भारतीय जुवाडे तथा आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरू होटलमा मदिरा सेवन गरी चोरी, लुटपाटजस्ता गतिविधिमा संलग्न भएको स्थानीयहरूको गुनासो छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख नेत्रमणि गिरीले अवैध रूपमा सञ्चालनमा रहेका मदिरा भट्टीहरूलाई तुरुन्त नियन्त्रण गर्न मातहतका प्रहरी युनिटहरूलाई निर्देशन दिइसकेको जानकारी दिनुभयो।












