जेठ २३ , काठमाण्डाैँ । वरिष्ठ अधिवक्ता शम्भु थापाले नेकपा (एकीकृत समाजवादी) को आलोकनगरस्थित पार्टी कार्यालय बाहिर फोटो पत्रकार उमेश कार्कीमाथि गरेको दुर्व्यवहारप्रति प्रेस चौतारी नेपालले गम्भीर आपत्ति जनाएको छ।
प्रेस चौतारीका महासचिव हिरामान लामाद्वारा जारी विज्ञप्तिमा जेठ २२ गते घटेको उक्त घटनाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप भएको ठहर गरिएको छ। “श्रमजीवी पत्रकारमाथि गरिएको यस्तो व्यवहार अस्वीकार्य छ,” विज्ञप्तिमा उल्लेख छ।
प्रेस चौतारी नेपालले श्रमजीवी र सक्रिय पत्रकारहरूमाथि भएको दुर्व्यवहारको विरोधमा नागरिक समाज र सम्बन्धित पेशागत संघसंस्थालाई चुप नबस्न र सशक्त आवाज उठाउन हार्दिक आह्वान गरेको छ। साथै, आगामी दिनमा पत्रकारहरूलाई निर्वाधरूपमा समाचार संकलन गर्न पाउने वातावरण तयार पार्न र उनीहरूको भौतिक सुरक्षाको प्रत्याभूति गर्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराइएको छ।













