घोराही, १० असार । जय महाकाल समूह, घोराही नगर समितिले सामाजिक सेवा अन्तर्गत निःशुल्क खाना खुवाउने अभियान सञ्चालन गर्दै आएको छ।
घोराही उपमहानगरपालिका वडा नम्बर १५ स्थित सहिद गुम्राह चोकको पिपल बोटको चौतारीमा दैनिक बिहान र साँझ गरिब, असहाय तथा भोक लागेकालाई लक्षित गरी यो सेवा प्रदान गरिँदैछ।
बिहान १० बजेदेखि साढे ११ बजेसम्म र साँझ ६ बजेदेखि साढे ७ बजेसम्म खाना वितरण गरिएकाे छ। खाना खुवाउने कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव तथा ‘घोराही बनाउँ अभियान’का संयोजक सविन प्रियासनको पनि उपस्थिति रहेको थियो।
जय महाकाल समूहका सचिव केशव गिरीका अनुसार विभिन्न दाताहरू र समाजसेवी व्यक्तिहरूको सहयोगबाट यो अभियान सञ्चालन भइरहेको छ। उहाँले निःशुल्क खाना खुवाउने अभियानमा जो–कोहीले पनि आर्थिक वा अन्य कुनै माध्यमबाट सहयोग गर्न सक्ने जानकारी दिनुभएकाे छ ।
समूहले खानाकाे अभावमा कष्टकर जीवन बिताइरहेका वृद्ध, बालबालिका, मजदुरलाई खानाकाे व्यवस्था गरि सामाजिक तथा मानवीय सेवा गर्ने उद्देश्यसहित यो कार्यक्रम सञ्चालन गरेको हो। स्थानीय स्तरमा यस कार्यको प्रशंसा भइरहेको छ भने सहयोगदाताहरूको संख्यामा समेत वृद्धि भइरहेको सचिव गिरीले बताउनुभएकाे छ।












