जैविक विविधताले भरिपूर्ण नेपालजस्तो देशमा सर्प एक महत्वपूर्ण प्राणी हो, जसलाई धेरैले डरलाग्दो रूपमा लिने गर्छन्। तर सर्प हाम्रो पारिस्थितिक प्रणालीको सन्तुलन कायम गर्न आवश्यक प्राणी हो। सर्पले मुसा, भ्यागुता, चराचुरुङ्गी लगायतका साना जीव खाएर वातावरण सफा राख्न सहयोग गर्छ।

तर मानिस र सर्पको अप्रत्याशित जम्काभेट हुँदा, सर्पले आफूमाथि खतरा महसुस गरेमा डस्न सक्छ, जसले गर्दा कहिलेकाहीँ ज्यानसमेत जान सक्छ। नेपालमा हालसम्म ८९ भन्दा बढी प्रजातिका सर्प पत्ता लागेका छन्, जसमध्ये १७ प्रजाति विषालु छन्। तीमध्ये कोमन कोब्रा, रसेल्स भाइपर (गोमन), करैत र कहिलेकाहीँ देखिने राज गोमन अत्यन्तै खतरनाक मानिन्छन्।

वर्षायाममा सर्पदंशको जोखिम उच्च

खेतबारीमा काम गर्दा, राति बाहिर हिँड्दा वा बासस्थान वरपर झाडी र फोहोर हुँदा सर्पसँग जम्काभेट हुने सम्भावना उच्च हुन्छ। पछिल्ला दुई महिनामा मात्र टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा २०० भन्दा बढी सर्पदंशका बिरामीको उपचार गरिएको छ, जसमा अधिकांशको सफलरूपमा उपचार भएको छ।

सर्पदंशका लक्षण र उपचार चुनौतीपूर्ण

सर्पको विष मुख्यतया दुई प्रकारका हुन्छन्—न्युरोटक्सिन र हेमोटक्सिन। न्युरोटक्सिनले स्नायुतन्त्रमा असर पुर्‍याउँछ भने हेमोटक्सिनले रगतको प्रवाहमा गम्भीर असर पार्छ। लक्षणअनुसार विषको पहिचान गरी उपचार गर्नुपर्छ।

सर्पले हरेकपटक विष छोढ्ने छैन, तर विष लागेको हो वा होइन भन्ने छुट्याउन चिकित्सकीय परीक्षण आवश्यक हुन्छ। नेपालमा भारतबाट ल्याइने एन्टीभेनम कोब्रा, करैत र रसेल्स भाइपरका लागि मात्र प्रभावकारी भए पनि अन्य प्रजातिका सर्पका लागि त्यो उपयोगी छैन, जसले उपचारलाई थप जटिल बनाउँछ।

सर्पदंश रोकथामका उपायहरू

सर्पले डसेको अवस्थामा बिरामीलाई ढाडस दिने, कम हिँडाउन लगाउने, शरीर नचलाउने, हल्कासँग पट्टी लगाउने, र तुरुन्तै अस्पताल लैजाने प्राथमिक उपाय हुन्। सर्प समात्ने, मार्ने, घाउ चुस्ने, घरेलु औषधि प्रयोग गर्ने कार्य नगर्नु नै उपयुक्त हुन्छ।

सर्पको सम्भावित जम्काभेटबाट बच्न लामो बुट लगाउने, झाडी सफा राख्ने, मुसा भगाउने, सरसफाइमा ध्यान दिने, बालबालिकालाई ओछ्यानमा सुताउने, रातिमा बत्ती बालेर मात्र हिँड्नेजस्ता सावधानी महत्त्वपूर्ण छन्।

जनचेतनाको खाँचो अझै पनि

नेपालमा वार्षिक झन्डै ४० हजार सर्पदंशका घटना हुने अनुमान छ, जसमा ३ हजारको ज्यान जाने गरेको तथ्याङ्क छ। अझ गम्भीर कुरा, तीमध्ये झन्डै ८० प्रतिशतको मृत्यु उपचार पुग्नुअघि नै हुने गर्छ।

स्वास्थ्यकर्मी तथा सर्वसाधारणबीच अझै सर्पदंशबारे जानकारीको अभाव छ। त्यसैले जनचेतनामूलक कार्यक्रम, स्वास्थ्यकर्मीका लागि तालिम, एन्टीभेनमको सहज उपलब्धता, पाठ्यक्रममा सर्पसम्बन्धी जानकारी समावेश गर्नु आजको आवश्यकता हो।

सर्पप्रति घृणा होइन, समझदारी आवश्यक

सर्पले तब मात्र डस्छ जब उसले खतरा महसूस गर्छ। त्यसैले डर होइन, समझदारी र सतर्कताका साथ व्यवहार गर्नु जरुरी छ। विषालु सर्पको जोखिम भए पनि वैज्ञानिक ज्ञान, सावधानी र समयमै उपचारबाट धेरै जीवन बचाउन सकिन्छ। त्यसैले सर्पलाई नाश गर्न होइन, यसको महत्त्व बुझ्न र सहजीवनको दृष्टिकोण राख्न आवश्यक छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस