दाङ, सउन २० । दाङको घोराही उपमहानगरपालिकाले व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता व्यवस्थापन प्रणालीका विषयमा कर्मचारी र जनप्रतिनिधिलाई लक्षित गर्दै तालिम सुरु गरेको छ।

सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाको आयोजनामा भइरहेको उक्त तालिममा वडा अध्यक्ष, स्थानीय पञ्जिकाधिकारी तथा अनलाइनमार्फत सामाजिक सुरक्षा भत्ता र व्यक्तिगत घटना दर्ता कार्यसम्भाल्ने कर्मचारी सहभागी भएका छन्।

शाखा प्रमुख दिवाकर योगीका अनुसार, तालिमको उद्देश्य सामाजिक सुरक्षा भत्ता नविकरण तथा दर्ता प्रक्रियालाई प्रभावकारी बनाउने, व्यक्तिगत घटना दर्ता गर्दा देखिने समस्या समाधान गर्ने, अनलाइन प्रणाली प्रयोगमा देखिएका चुनौती पहिचान गरी समाधान गर्ने र वडा तथा शाखा कार्यालयबाट प्रदान गरिने सेवालाई अझ सरल बनाउने रहेको छ।

घोराही उपमहानगरपालिकाकी कार्यवाहक नगर उप-प्रमुख हुमा डिसीको अध्यक्षतामा तालिमको उद्घाटन गरिएको हो। कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जनप्रतिनिधि र कर्मचारीबीच सहकार्य र समन्वयमा काम गरे जनतालाई सहज र प्रभावकारी सेवा दिन सकिने बताउनुभयो। उहाँले प्रचलित ऐन–कानुनको सीमाभित्र रहेर जनतालाई छरितो सेवा पुर्याउन सकेमा नागरिकको विश्वास जित्न सकिने पनि उल्लेख गर्नुभयो।

यसै अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले सामाजिक सुरक्षा भत्ता नविकरण, बैंक खाता सञ्चालन, राहदानी बनाउने लगायत सरकारी सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य भएको बताउँदै सबैलाई शीघ्र परिचयपत्र बनाउन आग्रह गर्नुभयो। उहाँका अनुसार, जिल्ला प्रशासन कार्यालयमार्फत तयार भएका परिचयपत्र वितरण भइसकेका छन् भने वडास्तरमा शिविरमार्फत बनाइएका कार्ड वितरणका तयारी भइरहेका छन्।

करिब ६० जनाको सहभागिता रहेको चारदिने तालिममा व्यक्तिगत घटना दर्ता, राष्ट्रिय परिचयपत्र, सामाजिक सुरक्षा भत्ता, नागरिकताको प्रकार र आधार, भि.इ.आर.एस.पी. एमआइएस प्रणालीलगायत विषयमा प्रशिक्षण दिइनेछ। तालिममा शाखा प्रमुख दिवाकर योगी र एमएसआई अपरेटर विराज अधिकारीसहितका प्रशिक्षकले प्राविधिक र कानुनी पक्षबारे जानकारी दिनेछन्।

प्रशासन महाशाखा प्रमुख बासुदेव आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटनको सहजिकरण शाखा प्रमुख योगीले गर्नुभएको थियाे।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस