दाङ, साउन २२ । शान्ति, सुरक्षा र अपराध नियन्त्रणमा प्रहरीलाई सहयोग गर्ने सोच राख्ने नागरिकहरू आफैं असुरक्षित महसुस गर्न थालेका छन्। तुलसीपुर इलाका प्रहरी कार्यालयले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागिहरूले प्रहरीप्रति गम्भीर प्रश्न उठाएका छन्।
कार्यक्रममा अधिकांश वक्ताहरूले प्रहरीमा विश्वास गरेर दिइएका सूचनाहरू बाहिरिने गरेको गुनासो गरेका छन। तस्कर वा अपराधीका बारेमा खबर दिने नागरिकहरू उल्टै धम्कीको शिकार बन्न थालेको उनीहरूले गुणासाे गरेका छन। खोलामा भइरहेको अवैध नदिजन्य पदार्थ तस्करी तथा लागुऔषध दुर्व्यसन जस्ता गतिविधिका बारेमा प्रहरीलाई जानकारी गराउँदा पनि आवश्यक कारबाही नहुनु र जानकारी चुहावट हुनु चिन्ताजनक रहेको उनीहरूको भनाइ थियो।
स्थानीय जनप्रतिनिधिहरूले समेत प्रहरीको भूमिकाप्रति असन्तुष्टि जनाएका छन। उनीहरूले प्रहरी जनसुरक्षा भन्दा अपराधीको सुरक्षामा लागेजस्तो देखिएको आरोप लगाएका हुन । वडास्तरमा अपराध नियन्त्रणमा सक्रिय प्रयास हुनुपर्नेमा त्यो नदेखिएको गुनासो सार्वजनिक सुनुवाइमा व्यक्त भएकाे हाे ।
नागरिक, जनप्रतिनिधि, अधिकारकर्मी तथा व्यवसायीहरूले साझा रूपमा प्रहरीको पारदर्शिता, जिम्मेवारी र सूचना सुरक्षामा सुधार गर्न आग्रह गरे। उनीहरूले अपराध नियन्त्रणमा नागरिकको सूचना महत्त्वपूर्ण भए पनि त्यो सुरक्षित रहन नसकेको अवस्था प्रति चिन्ता व्यक्त गरेका छन।
सुनुवाइपछि इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी अनिल ठकुरीले सूचना चुहावटको विषयले आफूलाई पनि अचम्मित बनाएको बताए। “नागरिकबाट यस्ता गुनासो आउनु स्वाभाविक हो, तर यस्तो अवस्था दोहोरिन नदिन गम्भीर भएर अघि बढ्छु,” उनले प्रतिक्रिया दिए हुन ।
तुलसीपुर उपमहानगरपालिका मेयर टिकराम खड्काले सबै दोष प्रहरीमाथि थोपर्न नहुने धारणा राख्दै काम भइरहेको र निराशा होइन, आशा दिने वातावरण बनाउन सबैले भूमिका खेल्नुपर्ने बताए।
कार्यक्रममा विभिन्न वडाध्यक्ष, महिला अधिकारकर्मी, यातायात व्यवसायी, सामाजिक अभियन्ता लगायतको उपस्थिति रहेको थियो। सहभागीहरूले सामाजिक अपराध नियन्त्रण, लागूऔषधको रोकथाम, जनसुरक्षाको प्रत्याभूति लगायत विषयमा प्रहरीसँग सहकार्य गर्ने प्रतिबद्धता जनाए पनि प्रहरीको कार्यशैलीमा सुधार आवश्यक रहेको धारणा राखे।
कार्यक्रममा इलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख महेश गुरुङ लगायत सहभागीहरूको पनि उपस्थिति रहेको थियो भने सहजीकरण प्रहरी नायव निरीक्षक भरतनाथ योगीले गरेका थिए।












