दाङ, भदाै १ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पामा भव्य रूपमा आयोजना हुन गइरहेको श्री ७ रणउजीरेश्वरी भगवती रथ जात्राको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइहरूलाई शुभकामना व्यक्त गर्नुभएको छ।

वि.सं. १८७१–७२ मा नेपाल र इस्ट इन्डिया कम्पनीबीच भएको युद्धमा नेपाली सेनाले प्राप्त गरेको ऐतिहासिक विजयको स्मरणमा हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन यो जात्रा मनाउने परम्परा रहेको छ। विजयपछि कर्णेल उजिरसिंह थापाले महिषासुरमर्दिनी भगवतीको मन्दिर स्थापना गर्दै रथ जात्राको सुरुवात गर्नुभएको ऐतिहासिक तथ्य मुख्यमन्त्री आचार्यले स्मरण गर्नुभयो।

‘यो जात्राले केवल विजयको गौरव मात्र होइन, धार्मिक आस्था, सांस्कृतिक विविधता र सामाजिक एकताको सन्देश बोकेको छ,’ उहाँको शुभकामना सन्देशमा भनिएको छ, ‘यसले आपसी सहकार्य र भाइचारालाई मजबुत बनाउनुका साथै पुराना परम्परा र धार्मिक मान्यताहरूलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने महत्वपूर्ण भूमिका खेलिरहेको छ।’

मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षण गर्दै तिनलाई पर्यटनसँग जोड्ने दीर्घकालीन योजनाहरू अघि बढाएको उल्लेख गर्नुभयो। हिमाल, पहाड र तराईलाई समेट्ने गरी लुम्बिनी प्रदेशमा पर्यटन सर्किट विकासको तयारी भइरहेको र पाल्पाको भगवती जात्रा जस्तो अमूल्य धरोहर यस अभियानको महत्वपूर्ण हिस्सा बन्न सक्ने विश्वास समेत व्यक्त गर्नुभयो।

यसै अवसरमा लुम्बिनी प्रदेश सरकारले आज (आइतवार) पाल्पा जिल्लाभर सार्वजनिक विदा दिएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस