भरत वली
दाङ, भदौ ६ । शिक्षा विधेयकका प्रावधान निजी विद्यालयको हित विपरीत रहेको भन्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले दाङको घोराहीमा आज (शुक्रबार) विरोध प्रदर्शन गरेको छ।

बिहान ११ बजेदेखि विभिन्न विद्यालयका सवारी साधनहरू कालो झन्डा राखी र्यालीमा सहभागी भएका थिए। नारायनपुरतर्फका विद्यालयहरू गुरुकुल स्कुलतर्फबाट, उत्तरतर्फका विद्यालयहरू डि.के. पेट्रोल पम्प वरिपरि, पूर्वतर्फका विद्यालयहरू ट्राफिक चोकदेखि तुलसीपुर चोकसम्म र दक्षिणतर्फका विद्यालयहरू दीपशिखा स्कुल आसपासबाट निस्किएको र्याली घोराही बजार क्षेत्रमा प्रदर्शनमा परिणत भएको थियो।

प्याब्सनले विद्यालय शिक्षा विधेयकमा राखिएका निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउनुपर्ने र ३ प्रतिशत विद्यार्थीलाई आवासीय सुविधा सहित छात्रवृत्ति दिनुपर्ने प्रावधानलाई आपत्ति जनाएको छ।














