दाङ, भदौ ८ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारु समुदायको महान् पर्व बर्का अट्वारी को अवसरमा शुभकामना दिनुभएको छ। उहाँले यस पर्वले समाजमा भाईचारा, एकता र समृद्धिको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो।
मुख्यमन्त्री आचार्यको शुभकामना सन्देशमा भनिएको छ, “प्रकृतिपूजक थारु समुदायले श्रद्धा र उल्लासका साथ मनाउने यो पर्वले मौलिक धर्म, संस्कृति र परम्परा जगेर्नामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। लुम्बिनी प्रदेशभित्र रहेका सबै जातजाति र समुदायका मौलिक परम्परा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा प्रदेश सरकार प्रतिबद्ध छ।”
नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषताले सम्पन्न राष्ट्र भएको उल्लेख गर्दै उहाँले यसै विविधताले नेपाललाई अझ गौरवान्वित बनाएको बताउनुभयो। थारु समुदायमा परापूर्वकालदेखि निरन्तरता पाइरहेको बर्का अट्वारी पर्व मौलिक परम्परामध्ये एक महत्वपूर्ण चाडका रूपमा स्थापित भएको उहाँको भनाइ छ।
यस पर्वमा विशेष गरी थारु पुरुषहरूले निराहार व्रत बस्दै सूर्यको पूजा गर्ने प्रचलन छ। थारु समुदायले सूर्यलाई उज्यालो र जीवनशक्तिको प्रतीकका रूपमा मान्दै आएका छन्। मुख्यमन्त्री आचार्यका अनुसार, यस पर्वले धार्मिक, सांस्कृतिक र परम्परागत मूल्यहरूको संरक्षणमा विशेष योगदान पुर्याउँदै आएको छ।
लुम्बिनी प्रदेश सरकारले दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिँदै थारु समुदायको यो पर्वलाई सम्मान गरेको छ। मौलिक कला, संस्कृति र धर्मको जगेर्नासँगै यसले प्रदेशको पर्यटन क्षेत्रलाई समेत टेवा दिने विश्वास मुख्यमन्त्री आचार्यले व्यक्त गर्नुभएको छ।












