दाङ, भदौ ९ । दाङको राप्ती गाउँपालिकामा खाली जमिन उपयोग गर्दै कृषकलाई आत्मनिर्भर बनाउन सामूहिक सखरखण्ड खेती थालिएको छ ।

गाउँपालिकाको वडा नं. २ कठाहा क्षेत्रमा करिब दुई बिघा नदीले उकासिएको जमिनमा प्रगतिशील कृषक समूह र कठाहा गाउँ भूमि अधिकार मञ्चले वडा अध्यक्ष पहलवान चौधरीको पहलमा खेती सुरु गरेका हुन् ।

खाली रहेको जमिनलाई उत्पादनमूलक बनाउँदै कृषकलाई सामूहिक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले गरिएको यो प्रयासमा आवश्यक बेर्ना, कृषि औजार भाडा तथा प्राविधिक सहयोग गाउँपालिकाको साझेदार संस्था सामुदायिक आत्मनिर्भर सेवा केन्द्र (CSRC) ले उपलब्ध गराएको छ । हाल श्रमदानमार्फत बिरुवा रोप्ने काम भइरहेको वडा अध्यक्ष चौधरीले जानकारी दिए ।

यसैबीच आइतबार लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगर, राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्ट, प्रवक्ता तथा वडा नं. २ का अध्यक्ष पहलवान चौधरीलगायत जनप्रतिनिधिहरूले श्रमदानमा सहभागी भई कृषकसँगै खेतबारीमा काम गरेका थिए । श्रमदानका क्रममा सभामुख घर्तीले कृषकको आयआर्जन बढाउन यस्ता सामूहिक पहल अत्यन्तै आवश्यक रहेको बताउँदै, “नेपालजस्तो कृषि सम्भावना बोकेको मुलुकमा उत्पादन र बजार व्यवस्थापन अझै चुनौतीपूर्ण छ । सामूहिक खेतीले कृषकलाई संगठित मात्र होइन, उत्पादनलाई बजारसम्म पु¥याउन सहज बनाउनेछ,” भने ।

त्यस्तै, गाउँपालिका अध्यक्ष बिष्टले कृषक आत्मनिर्भर बनाउन दीर्घकालीन योजना अघि सारिएको उल्लेख गर्दै, “उत्पादनलाई बजारसम्म पु¥याई उचित मूल्य दिलाउनु अहिलेको मुख्य आवश्यकता हो । पालिकाले उत्पादन प्रवर्द्धनदेखि बजार व्यवस्थापनसम्म निरन्तर सहयोग गर्नेछ,” भन्ने प्रतिबद्धता जनाए ।

सामुदायिक आत्मनिर्भर सेवा केन्द्रकी कृषि प्राविधिक सीता कुमारी चौधरीका अनुसार कठाहा क्षेत्रको माटो सखरखण्ड खेतीका लागि विशेष उपयुक्त छ । उनले प्रति कठ्ठा पाँचदेखि छ क्विन्टलसम्म उत्पादन लिने लक्ष्य राखिएको बताइन् । उत्पादन भएको सखरखण्ड सामूहिक रूपमा नजिकैको हाटबजारमा बिक्री गरिने र आवश्यक परे जिल्ला बाहिर पठाउने व्यवस्था मिलाइनेछ । साथै आउँदो माघदेखि सो क्षेत्रमा खरबुजा खेती गर्ने र खेतीयोग्य क्षेत्र विस्तार गर्ने तयारी भइरहेको वडा अध्यक्ष चौधरीले जानकारी दिए ।

यसअघि पनि गाउँपालिकाले आत्मनिर्भरता र रोजगारी सिर्जना गर्ने उद्देश्यले करिब २० हेक्टरभन्दा बढी क्षेत्रमा सामूहिक रूपमा विभिन्न फलफूलका बिरुवा रोपेको थियो ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस