घोराही, भदौ १६। त्रिभुवननगर जेसीजले सुरु गरेको सातदिने “तालिम म्याराथन–२०२५” आज (साेमबार) देखि घोराहीमा प्रारम्भ भएको छ। युवालाई सक्षम नेतृत्वतर्फ उन्मुख गराउने, व्यक्तित्व निखार्ने र जेसीजको पहिचानलाई थप स्पष्ट पार्ने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा पहिलो दिन मेचेकाली बोर्डिङ स्कुलमा “बैठक सञ्चालन कार्यशाला” सम्पन्न भएकाे छ।

उद्घाटन सत्रमा जेसीज २०२५ का अध्यक्ष टंकबहादुर रावत ‘अनन्त’ले सभापतित्व गर्नुभएकाे थियाे, भने नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन प्रमुख अतिथि रहनुभयो। कार्यक्रममा बोल्दै सबिन प्रियासनले युवा पुस्ताले बैठक सञ्चालनको सीप सिकेमा भविष्यमा उत्कृष्ट नेतृत्व प्रदान गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले पाठ्यपुस्तकसँगै व्यावहारिक सीप आवश्यक हुने उल्लेख गर्दै जेसीजको पहलले विद्यार्थीमा नेतृत्व क्षमताको विकास हुने समेत धारणा राख्नुभयो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्म केसीले यस्तो प्रशिक्षण विद्यालयमै आयोजना हुनु गौरवको विषय भएको बताउनुभयो। उहाँका अनुसार शैक्षिक ज्ञानसँगै सञ्चार कौशल, निर्णय क्षमता र नेतृत्व गुण विद्यार्थीलाई सफल जीवनतर्फ डोहोऱ्याउने भएकाले तालिम निकै उपयोगी छ।

त्यस अवसरमा अध्यक्ष रावत ‘अनन्त’ले जेसीजले निरन्तर युवालाई सशक्त बनाउन केन्द्रित हुँदै आएको जानकारी दिँदै “तालिम म्याराथन–२०२५” पनि सोही अभियानकै भाग रहेको स्पष्ट पार्नुभयो। उहाँले जिम्मेवार र समाजपरिवर्तनकारी नेतृत्व उत्पादन गर्ने उद्देश्यले यस्ता गतिविधि अविरल रूपमा सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

आजको सत्रमा कक्षा ११ र १२ का व्यवस्थापन संकायका विद्यार्थी सहभागी बनेका थिए। बैठक सञ्चालन कार्यशालामा जानकारी आदान–प्रदान बैठक, समस्या समाधान बैठक, निर्णय बैठक र योजना बैठकबारे व्यावहारिक अभ्यास गराइएको थियो। प्रशिक्षण पूर्व अध्यक्ष माधवप्रसाद पौडेलले सञ्चालन गर्नुभएको हो भने उपाध्यक्ष महेश बस्नेत संयोजक रहनुभयो।

यस्तै, यही म्याराथन अन्तर्गत भोलि भदौ १७ गते मार्क इन्टरनेशनल कलेजमा “वित्त क्षेत्रमा भावी नेतृत्व” शीर्षकमा अर्को प्रशिक्षण हुने भएको छ। उक्त कार्यक्रमको प्रशिक्षक सिए कैलाश खत्री रहनेछन् भने संयोजनको जिम्मेवारी सचिव विवेक देवकोटाले लिने अध्यक्ष रावतले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस