भरत वली
रोल्पा, भदौ १७ । नेपाल नेत्रज्योति संघको आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज सुलिचौर सर्जिकल आँखा केन्द्रको आयोजना, NABP I-CARE नर्वेको आर्थिक सहयोग र लमही आँखा अस्पतालको प्राविधिक सहयोगमा रोल्पाका विभिन्न स्थानमा निशुल्क आँखा जाँच कार्यक्रम सञ्चालन भइरहेको छ।
निर्धारित तालिका अनुसार भदौ ११ गतेदेखि १८ गतेसम्म सञ्चालन भइरहेको कार्यक्रममा आज, भदौ १७ गते, लुङ्ग्री गाउँपालिका–५ किलाचौरमा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ।
सो शिविरमा ७२ जनाले आँखा जाँच गराएका थिए। तीमध्ये १७ जनामा मोतिबिन्दुका बिरामी पहिचान भएका छन्। ती बिरामीहरूको शल्यक्रिया आगामी भदौ २१ गते सुलिचौर सर्जिकल आँखा केन्द्रमा सशुल्क तथा निशुल्क दुवै माध्यमबाट हुने जानकारी उपचार केन्द्रका प्रमुख केशर डाँगीले दिनुभयो।
कार्यक्रमका संयोजकका अनुसार अत्याधुनिक Phaco प्रविधिबाट हुने शल्यक्रियामा ५० प्रतिशत छुट उपलब्ध हुनेछ भने SICS अर्थात् हातबाट गरिने शल्यक्रिया पूर्ण रूपमा निशुल्क हुनेछ। यसका लागि नाम दर्ता बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने छ।
रोल्पामा कुल आठवटा शिविर सञ्चालन गर्ने तालिका तय भएकोमा हालसम्म छ वटा शिविर सम्पन्न भइसकेका छन्। बाँकी शिविर अन्तर्गत भदौ १८ गते सुनिलस्मृति गाउँपालिका–५ काभ्रामा आयोजना हुने छ।












