भरत वली
दाङ, भदौ २६ । दाङमा कर्फ्यू आदेश निरन्तर रहेको छ । दाङका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले जारी गर्नुभएको कर्फ्यू आदेशलाई २७ भदौ बिहान ५:०० बजेसम्म निरन्तरता दिइएको छ ।
जिल्लाको विभिन्न स्थानमा भइरहेको विरोध प्रदर्शन र जुलुस अनियन्त्रित भई सार्वजनिक तथा सरकारी सम्पत्तिमा तोडफोड र आगजनीसमेत भएको कारण जिल्ला सुरक्षा समितिको सिफारिसमा कर्फ्यू आदेश जारी गरिएको हो ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम जारी आदेश अनुसार निम्न स्थानमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ गर्न प्रतिबन्ध लगाइएको छः
राप्ती गाउँपालिका: प्रदेश सभा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय क्षेत्र र भालुवाङ बजार क्षेत्रभित्र पश्चिमतर्फ गोपीनाला र पूर्वतर्फ भालुवाङ पुलसम्म ।
घोराही उपमहानगरपालिका: पश्चिममा झिगौरा चोक, दक्षिणमा प्रहरी बोर्डिङ स्कूलदेखि गोरखा बोर्डिङ स्कूल नजिकको कटुवा खोला पुल, पूर्वमा मितेरी अस्पतालदेखि रझेना स्कूलसम्म र उत्तरमा फुर्सेकाली, ढोरेनी स्कूलदेखि सेवार खोला पुलसम्म ।
तुलसीपुर उपमहानगरपालिका: पूर्व हात्तीखोवा, पश्चिम कृष्ण मन्दिर, उत्तर आँखा अस्पताल र दक्षिण एयरपोर्टसम्म ।
लमही नगरपालिका: पूर्व अर्नवा, पश्चिम अर्जुन खोला पुल र दक्षिण कोलही पुलसम्म ।
कर्फ्यू आदेशको अवधि भदौ २७ गते बिहान ५:०० बजेसम्म कायम रहने जिल्ला प्रशासन कार्यालय, दाङले जनाएको छ ।












