दाङ, १० असोज । चाडपर्वलाई लक्षित सहुलियत मूल्यका पसलहरू दाङमा अपेक्षाकृत सुनसान देखिएका छन् । तेल, चिनी, घिउजस्ता अत्यावश्यक सामान पर्याप्त नहुँदा नागरिकको आकर्षण बढ्न नसकेको हो । उपभोक्ताको सहजताका लागि भनिए पनि आवश्यक सामग्री नपुग्दा सहुलियत मूल्यका पसलहरू रित्ताजस्तै भएका छन् ।

घोराही उपमहानगरपालिका–१५ मा रहेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड दाङ शाखाले यस वर्षको दसैं, तिहार र छठलाई लक्षित गरी सञ्चालन गरेको सहुलियत पसलबाट अहिले नून मात्र बिक्री भइरहेको छ । शाखा प्रमुख रामबाबु प्रसाद गुप्ताका अनुसार विगतमा नूनसँगै चिनी पनि सस्तो दरमा उपलब्ध गराइँदै आएको भए पनि यस वर्ष केन्द्रबाट चिनी नआएकाले बिक्री गर्न नसकिएको हो ।

भदौ ३० गतेदेखि सुरु भएको पसलमा हालसम्म १२९ जनाले प्रतिव्यक्ति ६ किलो दरमा ७७४ किलो नून खरिद गरेका छन् । बजार मूल्य २६ रुपैयाँ पर्नेजस्तो आयोडिनयुक्त नूनलाई साल्ट ट्रेडिङले प्रतिकिलो २४ रुपैयाँमा उपलब्ध गराइरहेको छ । गुप्ताका अनुसार दैनिक २०–५० जना उपभोक्ता नूनका लागि आउने गर्छन् तर चिनी र अन्य खाद्यान्नको माग धैरै भए पनि उपलब्धता छैन ।

गत वर्ष सोही पसलबाट १,८६७ जनालाई ११ हजार २ किलो नून र २,६९२ जनालाई १६ हजार १५२ किलो चिनी बिक्री गरिएको थियो ।

यसैबीच, तुलसीपुरमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भने सहुलियत मूल्यमा चामल र चिनी बिक्री गरिरहेको छ । सूचना अधिकारी शक्तिराम डाँगीका अनुसार भदौ ३० गतेदेखि सुरु भएको पसलमार्फत हालसम्म प्रतिक्विन्टल ८,३०० रुपैयाँको दरमा ‘स्टिम जिरामसिनो’ चामल २६ हजार क्विन्टलभन्दा बढी र साढे पाँच क्विन्टल ‘अरुवा सोना मन्सुली’ बिक्री गरिएको छ ।

उनका अनुसार २५ किलोको बोरा सामान्यतया २,२०० रुपैयाँ पर्ने ‘स्टिम जिरामसिनो’ चामललाई २,०५० रुपैयाँमा, १,६०० रुपैयाँ पर्ने ‘अरुवा सोना मन्सुली’लाई १,४७५ रुपैयाँमा र १,५५० रुपैयाँ पर्ने ‘अरुवा मोटो’ चामललाई १,४२५ रुपैयाँमा बिक्री भइरहेको छ । चिनी पनि प्रतिकिलो पाँच रुपैयाँ छुटसहित ९५ रुपैयाँमा हालसम्म छ क्विन्टल बिक्री भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस