दाङ, ४ कार्तिक। नेपाल विद्युत् प्राधिकरणले बक्यौता रकम नतिर्ने चार उद्योगको विद्युत् लाइन विच्छेद गरेको छ। प्राधिकरणले आज बिहान करिब ६:२० देखि ७ बजेबीच घोराही सिमेन्ट (दाङ), अर्घाखाँची सिमेन्ट (लुम्बिनी), त्रिवेणी स्पिनिङ (परवानीपुर) र जगदम्बा स्टिल (अमलेखगञ्ज)को लाइन काटेको जनाएको छ।
प्राधिकरणका अनुसार, यी उद्योगहरूले लामो समयदेखि डेडिकेटेड र ट्रङ्क लाइन प्रयोगबापतको थप महसुल तिरेका छैनन्। जगदम्बा स्टिलको बक्यौता १ अर्ब ६० करोड, घोराही सिमेन्टको ५० करोड ८५ लाख, अर्घाखाँची सिमेन्टको ४४ करोड ८४ लाख र त्रिवेणी स्पिनिङको ३२ करोड १० लाख रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ।
२०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिमा सो रकम तिर्नुपर्ने भए पनि उद्योगहरूले भुक्तानी नगरेपछि प्राधिकरणले कारबाहीस्वरूप लाइन काटेको हो। यसअघि प्राधिकरणले अन्तिम चेतावनीका रूपमा २१ दिनको समयसीमा तोकेको थियो। सो समयसीमा सकिएपछि मात्र प्राधिकरणले विद्युत् आपूर्ति रोक्ने निर्णय गरेको हो।











