घाेराही, १० माघ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकलाई सम्भावित दुर्घटनाबाट जोगाउन फागुन २१ गते हुने निर्वाचनलाई सदुपयोग गर्न सबैमा आग्रह गर्नुुभएकाे छ।

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ लुम्बिनी प्रदेश समितिको संयोजन तथा महासंघ जिल्ला समिति दाङको आयोजनामा घोराहीमा भएको अन्तर्क्रिया कार्यक्रममा बोल्दै महासचिव पोखरेलले पछिल्लो समय मुलुकविरुद्ध सुनियोजित गतिविधि बढ्दै गएको दाबी गर्नुभयाे।

उहाँले सामाजिक सञ्जालमा फेक आइडीको प्रयोग तीव्र रूपमा बढ्दै गएको भन्दै यसले समाजलाई भ्रम, अविश्वास र विखण्डनतर्फ धकेलिरहेको बताउनुभयाे ।

“पछिल्लो समय मुलुकविरुद्ध सुनियोजित गतिविधि बढ्दै गइरहेका छन् । सामाजिक सञ्जालमा फेक आइडीको प्रयोग तीव्र रूपमा बढ्दै गएको छ, जसले समाजलाई भ्रम, अविश्वास फैलाउनुका साथै र विखण्डनतर्फ धकेलिरहेको छ”, महासचिव पोखरेलले भन्नुभयाे। कुनै समय सूचना प्रवाहको भरपर्दो माध्यम मानिएको सामाजिक सञ्जाल अहिले समाजलाई गलत दिशातर्फ लैजाने माध्यम बन्दै गएकोमा पोखरेलले चिन्ता व्यक्त गर्नुभयाे।

भदौ २३ र २४ गते भएका घटनालाई मुलुकविरुद्धको षड्यन्त्रको संज्ञा दिँदै महासचिव पोखरेलले ती गतिविधि अझै पूर्णरूपमा नरोकिएको बताउनुभयाे । रवि र बालेनलाई जन्माउने ‘सेन्टर’ एउटै रहेको दाबी गर्दै महासचिव पोखरेलले उही शक्तिले मुलुकविरुद्ध गतिविधि सिर्जना गर्न उनीहरूलाई एकताबद्ध गराएको आरोप लगाउनुभयाे ।

जेन–जी आन्दोलनका नाममा भएका तोडफोड र आगजनीका घटनाहरू स्वतःस्फूर्त नभई योजनाबद्ध रहेको उल्लेख गर्दै पोखरेलले विद्यार्थीहरूको आडमा सार्वजनिक तथा निजी सम्पत्ति ध्वंश गरिएको बताउनुभयाे।

उहाँले डिस्कटमा विशेष रसायन प्रयोग गरी आगजनी गर्ने विषयमा समेत छलफल भएको जानकारी आएको दाबी गर्दै यस्तो किसिमको विद्रोह विद्यार्थीहरूबाट सम्भव नहुने स्पष्ट पार्नुभयाे। निर्वाचन सन्दर्भमा बोल्दै महासचिव पोखरेलले जिल्लाको मनोविज्ञान सकारात्मक रहेको बताउनुभयाे ।

महासंघ जिल्ला अध्यक्ष शरदराज गिरीको अध्यक्षतामा भएको अन्तर्क्रिया कार्यक्रममा राष्ट्रिय चिकित्सक संघका केन्द्रीय अध्यक्ष प्रा.डा. विकास गौतमले स्वागत मन्तव्य व्यक्त गर्नुभएकाे थियाे भने सहजीकरण महासंघका लुम्बिनी प्रदेश अध्यक्ष दोर्ण वलीले गर्नुभएकाे थियाे।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस