घोराही, ६ चैत । दाङ महिला जेसीज, त्रिभुवननगर जेसीज र रोटरी क्लब अफ दाङको संयुक्त आयोजनामा बिहीबार निःशुल्क आँखा जाँच शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

तिलगङ्गा नेत्र विज्ञान संस्थान र द फ्रेड होलोज फाउन्डेसनको प्राविधिक सहयोग तथा घोराही उपमहानगरपालिका–१६ नं वडा कार्यालयको समन्वयमा शिविर सञ्चालन गरिएको थियाे। १६ नम्बर वडा कार्यालयमा आयोजित शिविरमा तीन सय पचास भन्दा बढी सेवाग्राहीहरूले निःशुल्क आँखा परीक्षण गराएका थिए।

दाङ महिला जेसीज वर्ष २०२६ की शाखा अध्यक्ष जेसी अर्चना शर्माको अध्यक्षता तथा वडा नं १६ का वडा अध्यक्ष ताराबहादुर डाँगीकाे प्रमुख आतिथ्यतामा शिविर सञ्चालन गरिएकाे थियाे । कार्यक्रम संयोजक तथा कानुनी सल्लाहकार जेसी लक्ष्मी चौधरीकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रममा जेसी आकृति शर्माले आस्थापाठ गर्नुभएको थियाे।

कार्यक्रमका प्रमुख अतिथि डाँगीले यस्ता स्वास्थ्यसम्बन्धी कार्यक्रमले समुदायमा सकारात्मक प्रभाव पार्ने बताउनु भएकाे थियाे। कार्यक्रमका अन्य वक्ताहरुले यस किसिमका निःशुल्क स्वास्थ्य शिविरहरूले स्थानीय बासिन्दालाई प्रत्यक्ष लाभ पुर्‍याउनुका साथै सामाजिक उत्तरदायित्व निर्वाहमा महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन र दाङ महिला जेसीजकी संस्थापक अध्यक्ष निर्मला गौतमले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे।

कार्यक्रमको सहजीकरण कार्यकारिणी उपाध्यक्ष आराधना सिंह ठकुरीले गर्नुभएकाे थियाे।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस