घाेराही, १४ बैशाख । दाङ महिला जेसिजको आयोजनामा “मिडिया साक्षरता” सम्बन्धी एकदिने तालिम सम्पन्न भएकाे छ । घोराही उपमहानगरपालिका १५ स्थित राप्ती शिक्षा क्याम्पसमा उक्त तालिमकाे आयाेजना गरिएको थियाे।

“सही सूचना, सही विचार र सही निर्णय” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै सुरक्षित, सचेत र जिम्मेवार समाज निर्माणमा योगदान पुर्याउने उद्देश्यले उक्त तालिम सञ्चालन गरिएको शाखा अध्यक्ष अर्चना शर्माले बताउनुभयाे। तालिममा राप्ती शिक्षा क्याम्पसमा कानून विषय अध्ययनरत विद्यार्थीहरू तथा दाङ महिला जेसीजका पदाधिकारी तथा सदस्यहरुकाे उल्लेखनीय उपस्थिति रहेको थियो।
तालिम शाखा अध्यक्ष अर्चना शर्माको अध्यक्षता तथा सोही क्याम्पसका सहायक क्याम्पस प्रमुख गणेश खड्काकाे प्रमुख अतिथ्यतामा भएकाे थियाे ।
तालिमका प्रशिक्षक नेपाल पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष दुर्गालाल केसीले सहभागीहरूलाई मिडिया साक्षरताका विविध पक्षबारे जानकारी गराउनुभएको थियो।
तालिमकाे उद्घाटन सत्रमा जेसी आकृति शर्माले जेसीज आस्था वाचन गर्नुभएको थियो भने तालिम निर्देशक जेसी रेमन्ता पुनले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। उक्त अवसरमा संस्थापक अध्यक्ष निर्मला गौतम, पूर्व अध्यक्ष तथा वर्ष २०२६ का तालिम विभाग संयोजक जेसी निरजा पोख्रेल र नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले पनि आ-आफ्ना मन्तव्य राख्दै कार्यक्रमको महत्वमाथि प्रकाश पार्नुभएको थियो।
कार्यक्रमको सहजीकरण जेसी सुनिता थापाले गर्नुभएको थियो। तालिमका सहभागीहरूमा मिडियाको सही प्रयोग, सूचनाको पहिचान तथा विश्लेषण गर्ने क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।












