दाङ, २५ बैशाख– नेपाल संस्कृत विश्वविद्यालयका आधुनिक विषयका प्राध्यापकहरुले संस्कृत विश्वविद्यालय ऐनमा भएको पदाधिकारी नियुक्तिसम्बन्धी व्यवस्था सच्याउन माग गरेका छन् ।
विश्वविद्यालयका सहकुलपति एवं शिक्षामन्त्री सस्मित पोख्रेलमार्फत कुलपति एवं प्रधानमन्त्री बालेन्द्र शाहलाई पठाइएको ज्ञापनपत्रमा नेपाल सरकारद्वारा हालै जारी अध्यादेश मार्फत संस्कृत विश्वविद्यालयको ऐन संशोधन गरी पदाधिकारीहरु नियुक्तिसम्बन्धी कतिपय दफा भेदभावपूर्ण बनाइएको उल्लेख छ ।
एउटै सेवा आयोगद्वारा परीक्षा लिई एकै प्रक्रियाद्वारा नियुक्त प्राध्यापकहरुमा विभेद हुने गरी नेपाल सरकारबाट ऐन संशोधन हुनुलाई न्यायपूर्ण मान्न नसकिने उल्लेख गर्दै ज्ञापनपत्रमा त्यस्ता दफाहरु तत्काल सच्याई पदाधिकारी नियुक्ति प्रक्रिया अघि बढाउन माग गरिएको छ ।
नेपाल संस्कृत विश्वविद्यालयमा प्रमुख धार संस्कृत मानिए पनि आधुनिक विषय पनि पढाइ हुँदै आएको सन्दर्भलाई अध्यादेशले पूरै नजरअन्दाज गरेको ज्ञापनपत्रमा उल्लेख छ । ‘ऐनमा हालै गरिएको व्यवस्थाले संस्कृत भाषा र साहित्यका प्राध्यापकहरु मात्रै उपकुलपति लगायतका पदाधिकारी हुन पाउने देखिन्छ,’ ज्ञापनपत्रमा भनिएको छ,‘यही व्यवस्था कायम रहेमा संस्कृत विश्वविद्यालयमा आधुनिक विषयका योग्य उम्मेदवारहरुले प्रवेश पाउन सक्दैनन् ।’
उपकुलपति र शिक्षाध्यक्ष पद प्राज्ञिक नेतृत्वका साथै प्रशासनिक नेतृत्व समेत भएकाले संस्कृतको ज्ञानले मात्रै विश्वविद्यालय हाँकिन्छ भन्ने सोच सही मान्न नसकिने ज्ञापनपत्रमा उल्लेख छ । त्यसमाथि कुलसचिव (रजिष्ट्रार) पद त कर्मचारी प्रशासनको नेतृत्व गर्नुका साथै वित्तीय व्यवस्थापन समेत गर्ने भएको हुँदा संस्कृत अध्ययन गरेकाले मात्रै आवेदन दिन पाउने व्यवस्था स्विकार्य नहुने प्राध्यापकहरुले बताएका छन् ।
संस्कृत र आधुनिक विषयका प्राध्यापकहरुको समन्वयकारी भूमिकाबाट मात्रै आधुनिक युगमा संस्कृत शिक्षालाई व्यापक बनाउन सकिने कुरातर्फ नेपाल सरकारको ध्यान जानु अत्यावश्यक रहेको ज्ञापनपत्रमा उल्लेख छ । अझ संस्कृत शिक्षामा रहेको पूर्वीय ज्ञान परम्परालाई अन्तराष्ट्रियकरण गरी नेपाल र नेपालीको पहिचानलाई उचो राख्न विश्वविद्यालयमा कार्यरत सबै प्राध्यापकहरुको बराबर सम्मान उत्तिकै आवश्यक रहेको ज्ञापनपत्रमा उल्लेख छ ।
उपकुलपति र शिक्षाध्यक्ष पदका लागि कुनै विषयमा विद्यावारिधि हासिल गरी संस्कृत सम्बद्ध विश्वविद्यालयमा कम्तीमा दश वर्ष कार्य गरेको प्राध्यापक तथा कुलसचिवका लागि कुनै विषयमा स्नातकोत्तर गरी संस्कृत सम्बद्ध विश्वविद्यालयमा दश वर्षको प्राध्यापन अनुभव भन्ने व्यवस्था गर्न प्राध्यापकहरुले माग गरेका छन् ।











