विमल याेगी
दाङ, २५ असार। घोराही उपमहानगरपालिका–५ धारपानीस्थित श्री पाण्डवेश्वर महादेव मन्दिरमा २०८३ साल श्रावण १ गतेदेखि भदौ १ गतेसम्म शिवपुराण तथा श्रृङ्गारिक महाआरती सञ्चालन हुने भएको छ। मन्दिर व्यवस्थापन समितिले साउन महिनाभर विविध धार्मिक, आध्यात्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी भक्तजनलाई धार्मिक आस्थासँग जोड्ने उद्देश्य लिएको जनाएको छ।

कार्यक्रमअन्तर्गत प्रत्येक दिन नित्य पूजा, विशेष पूजा, शिवपुराण वाचन, १०८ वटा पीपलमा जल चढाउने अनुष्ठान, नित्य आरती, भजन तथा प्रवचन, श्रृङ्गारिक महाआरती तथा भजनकिर्तन सञ्चालन गरिनेछ। साथै, रुद्राभिषेक, लघु रुद्री, लक्षवर्तिका, चौरासी पूजा, अष्ट चिरञ्जीवी पूजा, नागपूजा, ब्राह्मण भोजन, प्रसाद वितरण, व्रतबन्ध, चूडाकर्म, स्वस्ति शान्ति लगायतका धार्मिक अनुष्ठानका व्यवस्था समेत गरिएको छ।

महाआरती अवधिभर ‘एक करोड दीप प्रज्ज्वलन’ अभियान सञ्चालन गरिने आयोजकले जनाएको छ। दीप प्रज्ज्वलनमा सहभागी भक्तजन तथा दाताहरूलाई सहयोगको आधारमा सम्मान गरिने व्यवस्था मिलाइएको छ। साथै, साउन १ गतेदेखि वर्षभरि नियमित भण्डारा सञ्चालन गर्ने योजना समेत रहेको र त्यसका लागि अन्न, अक्षयकोष तथा अन्य सहयोग गर्न इच्छुक दाताहरूलाई सहयोगका लागि आग्रह गरिएको छ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार अधिकारीले धार्मिक तथा आध्यात्मिक चेतनाको विकास, समाजमा सकारात्मक सन्देश प्रवाह तथा पाण्डवेश्वर महादेव मन्दिरको धार्मिक महत्त्वलाई थप उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। “गत वर्ष सञ्चालन गरिएको महाआरतीमा भक्तजनको उत्साहजनक सहभागिता रहेको थियो। यस वर्ष अझ व्यवस्थित र भव्य रूपमा कार्यक्रम सञ्चालन गर्ने तयारी गरेका छौँ,” उनले भने, “साउन महिनाभर आयोजना हुने कार्यक्रमले धार्मिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास लिएका छौँ।”

त्यस्तै, मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले शिवपुराण तथा श्रृङ्गारिक महाआरतीलाई सफल बनाउन तयारी तिव्र रूपमा भएको जानकारी दिनुभयाे। “महाआरतीमा नेपाल तथा भारतका प्रतिष्ठित कथावाचक, भजनकिर्तन कलाकार तथा धर्मप्रेमी व्यक्तित्वहरूको सहभागिता रहनेछ,” उहाले भन्नुभयाे, “धार्मिक आस्था राख्ने सम्पूर्ण श्रद्धालु भक्तजनलाई कार्यक्रममा सहभागी भई पुण्य लाभ लिन हार्दिक आमन्त्रण गर्दछौँ।”

आयोजकका अनुसार कार्यक्रममा विभिन्न क्षेत्रका समाजसेवी, उद्योगी–व्यवसायी, जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि र सर्वसाधारण भक्तजनको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ। धार्मिक, सामाजिक तथा सांस्कृतिक महत्व बोकेको यस कार्यक्रमले धारपानी क्षेत्रलाई धार्मिक केन्द्रका रूपमा थप परिचित गराउने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस