घोराही, १७ साउन । ज्ञानज्योति एजुकेसनल एकेडेमी, घोराही–१३ डुम्मुरगाउँमा कक्षा ११ मा अध्ययनका लागि भर्ना भएका नयाँ विद्यार्थीलाई कक्षा १२ का विद्यार्थीद्वारा स्वागत तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विद्यार्थीबीच आत्मीय सम्बन्ध विकास गर्दै अध्ययनप्रति थप प्रेरणा जगाउने उद्देश्यका साथ विभिन्न सांस्कृतिक तथा प्रेरणामूलक प्रस्तुति गरिएको थियो।

कक्षा १२ की छात्रा भूमिका थापाले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता विद्यार्थी लक्ष्मी घर्ती मगरले गर्नुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि घोराही बनाऔं अभियानका संयोजक सबिन प्रियासन रहनुभएको थियो। त्यसैगरी प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपाने, सामाजिक विकास शाखाका उपनिर्देशक मोतिराम न्यौपाने, प्याब्सन घोराही नगर अध्यक्ष बालकृष्ण ओली, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रबिलाल घर्ती मगर, विद्यालयका प्रिन्सिपल लक्ष्मीप्रसाद घर्ती मगर तथा शैक्षिक संयोजक नवीन आचार्यको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यार्थी रबिता रोकाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सबिन प्रियासनले विद्यार्थीहरूलाई केवल परीक्षा उत्तीर्ण हुने उद्देश्यमा सीमित नरही ज्ञान, सीप, व्यवहार र सामाजिक उत्तरदायित्वले सम्पन्न नागरिक बन्न आग्रह गर्नुभयो। उहाँले अहिलेको शिक्षा प्रणालीलाई खोज तथा अनुसन्धानसँग जोड्न आवश्यक रहेको उल्लेख गर्दै विद्यालयले सिर्जनशील, अनुशासित र समाजप्रति उत्तरदायी जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो।
उहाँले भन्नुभयो, “आजको विश्व प्रतिस्पर्धात्मक छ। केवल किताबी ज्ञानले मात्र पुग्दैन। व्यवहारिक शिक्षा, अनुसन्धान गर्ने क्षमता, प्रविधिको सदुपयोग, नैतिक आचरण र समाजप्रतिको संवेदनशीलता भएका विद्यार्थी नै भविष्यका सफल नेतृत्व बन्न सक्छन्। विद्यालयले विद्यार्थीमा यिनै गुण विकास गर्नुपर्छ।”
विशिष्ट अतिथि तथा प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपानेले निजी विद्यालयहरूले गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले शिक्षा केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यम नभई जीवन निर्माण गर्ने आधार भएकाले विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो।
सामाजिक विकास शाखाका उपनिर्देशक मोतिराम न्यौपानेले व्यवहारिक शिक्षाले विद्यार्थीलाई आत्मनिर्भर बनाउने उल्लेख गर्दै अध्ययनसँगै सामाजिक उत्तरदायित्व, नैतिकता र अनुशासनलाई आत्मसात् गर्न आग्रह गर्नुभयो। उहाँले अनुसन्धानमुखी सिकाइले विद्यार्थीमा नयाँ सोच र नवप्रवर्तनको विकास हुने भएकाले विद्यालयहरूले त्यसतर्फ विशेष ध्यान दिनुपर्ने बताउनुभयो।
प्याब्सन घोराही नगर अध्यक्ष बालकृष्ण ओलीले गुणस्तरीय शिक्षासँगै अनुशासन, सकारात्मक सोच र सामाजिक चेतनायुक्त विद्यार्थी उत्पादन गर्नु आजको आवश्यकता भएको बताउनुभयो। उहाँले विद्यार्थीले अध्ययनसँगै नेतृत्व क्षमता, सिर्जनशीलता र सामाजिक सेवाको भावना पनि विकास गर्नुपर्नेमा जोड दिनुभयो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रबिलाल घर्ती मगरले विद्यालयले आधुनिक तथा व्यावहारिक शिक्षामार्फत दक्ष, सक्षम र जिम्मेवार नागरिक उत्पादन गर्ने लक्ष्यका साथ निरन्तर काम गरिरहेको जानकारी दिनुभयो। प्रिन्सिपल लक्ष्मीप्रसाद घर्ती मगरले विद्यार्थीको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखेर विद्यालयले शैक्षिक, अतिरिक्त क्रियाकलाप तथा जीवनोपयोगी शिक्षालाई समान प्राथमिकता दिएको बताउनुभयो।
कार्यक्रममा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई सफल शैक्षिक यात्राको शुभकामना व्यक्त गरिएको थियो। साथै कक्षा १२ का विद्यार्थीले नयाँ साथीहरूलाई मायाको चिनो प्रदान गर्दै विद्यालय परिवारमा स्वागत गरेका थिए।
कार्यक्रमको आकर्षणका रूपमा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक गीत, नृत्य तथा मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए। सांगीतिक तथा नृत्य प्रस्तुतिले कार्यक्रमलाई थप उल्लासमय बनाएको थियो। विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिताले विद्यालयमा सकारात्मक शैक्षिक वातावरण निर्माण भएको अनुभूति गराएको सहभागीहरूले बताएका थिए।
कार्यक्रमको समापन गर्दै अध्यक्ष लक्ष्मी घर्ती मगरले सम्पूर्ण अतिथि, शिक्षक, विद्यार्थी तथा सहयोगीप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि विद्यालयले गुणस्तरीय, व्यवहारिक, अनुसन्धानमुखी, अनुशासित तथा सामाजिक भावना भएका विद्यार्थी उत्पादन गर्ने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रमको सहजीकरण विद्यार्थी भूमिका थापाले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस