विमल योगी
दाङ, ३१ साउन । दाङको घोराही उपमहानगरपालिका–५ धारपानीस्थित श्री पाण्डवेश्वर महादेव मन्दिरमा शिवपुराण तथा श्रुङ्गारिक महाआरती सत्सङ्ग अन्तर्गत आइतबार आयोजित एक करोड दीप प्रज्वलन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

धार्मिक आस्था, शान्ति, समृद्धि तथा विश्वकल्याणको कामनासहित आयोजित कार्यक्रममा दाङसहित देशका विभिन्न जिल्ला तथा विदेशबाट आएका हजारौँ श्रद्धालु भक्तजनको उत्साहजनक सहभागिता रहेको थियो। मन्दिर परिसर दीपमालिकाले झिलिमिली बनेको थियो भने भक्तजनहरूले सामूहिकरूपमा दीप प्रज्वलन गरी भगवान् शिवको आराधना गरेका थिए।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारी र सचिव विष्णुराम आचार्यले एक विज्ञप्ति जारी गर्दै एक करोड दीप प्रज्वलन कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण श्रद्धालु भक्तजन, दाता, स्वयंसेवक, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा सहयोगी संस्थाहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको छ। समितिले कार्यक्रममा सहभागी भई धार्मिक वातावरणलाई भव्य बनाउन योगदान पुर्‍याउने सम्पूर्ण भक्तजनप्रति विशेष आभार व्यक्त गरेको छ।

यसैबीच, साउन १ गतेदेखि सञ्चालन हुँदै आएको एक महिने श्रुङ्गारिक महाआरती तथा शिवकथा सत्सङ्ग कार्यक्रमको औपचारिक समापन सोमबार (भदौ १ गते) हुने भएको छ। मन्दिर व्यवस्थापन समितिका अनुसार समापन अवसरमा बिहान ७ बजे पूर्णाहुति (तिल हवन) तथा बिहान ८ बजेदेखि १० बजेसम्म महाआरती समापन कार्यक्रम आयोजना गरिनेछ।

समापन कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका सदस्य, आजीवन सदस्य, साधारण सदस्य, मानार्थ सदस्य, सल्लाहकार, भक्तजन, दाताहरू, बुद्धिजीवी तथा सञ्चारकर्मीहरूलाई उपस्थितिका लागि अनुराेध गरिएकाे छ । एक महिनादेखि सञ्चालन भइरहेको शिवपुराण कथा वाचन, पूजा–आराधना, भजन–कीर्तन, प्रवचन तथा श्रृङ्गारिक महाआरती कार्यक्रमले पाण्डवेश्वर महादेव मन्दिरलाई धार्मिक आस्थाको महत्वपूर्ण केन्द्रकारूपमा स्थापित गर्न थप टेवा पुगेको विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस