घोराही, १८ भदाै। विभिन्न उद्यमशील तथा आयमूलक गतिविधिमार्फत महिलालाई आर्थिक रूपमा सक्षम, आत्मनिर्भर र सशक्त बनाउने उद्देश्यले गठन भएको उज्ज्वल महिला विकास संस्था दाङमा नयाँ कार्यसमिति चयन गरिएको छ।

संस्थाको बन्दसत्रले विष्णु भुसालको अध्यक्षतामा गठन गरेको नयाँ कार्यसमितिको उपाध्यक्षमा सुशीला सार्की र गीता रेग्मी चयन हुनुभएको छ। त्यसैगरी सचिवमा राधा केसी, कोषाध्यक्षमा आरती महरा क्षेत्री, सहसचिवमा मिना थापा तथा सहकोषाध्यक्षमा जुनतारा पुन चयन हुनुभएको छ।

कार्यसमितिका सदस्यहरूमा किरण नेपाली, स्मृति बस्नेत, रोशनी सुनार र माया घिमिरे रहनुभएको छ। संस्थाको सल्लाहकारमा माया चौधरी, पुतला सार्की, सुन्तली सार्की, लालमाया ओली र रचना कुमार रहनुभएको छ।

नयाँ कार्यसमिति गठनसँगै संस्थाले आगामी दिनमा महिलाको क्षमता विकास, सीपमूलक तालिम, स्वरोजगार, उद्यमशीलता तथा आर्थिक सशक्तीकरणका क्षेत्रमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। बन्द सत्र पछि गठित नयाँ कार्यसमितिलाई नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासनले बधाई एवं शुभकामना दिनुभएको थियो।

यसअगाडि संस्थाको उद्घाटन कार्यक्रम भएको थियो। विष्णु भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसी प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नम्बर १४ का अध्यक्ष भान्सिङ बुढा विशिष्ट अतिथि रहनुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डिसीले महिलाहरू केवल घरपरिवारको जिम्मेवारीमा सीमित नभई आर्थिक, सामाजिक र उद्यमशील क्षेत्रमा समेत सक्रिय रूपमा अगाडि बढ्नुपर्ने बताउनुभयो। उहाँले महिलाको आर्थिक आत्मनिर्भरताले परिवारसँगै समाज र समग्र राष्ट्रको विकासमा महत्वपूर्ण योगदान पुग्ने उल्लेख गर्नुभयो।

“महिलालाई अवसर, सीप र उचित वातावरण उपलब्ध गराउन सके उनीहरू सफल उद्यमी बन्न सक्छन्,” उपप्रमुख डिसीले भन्नुभयो, “महिलाको नेतृत्व र उद्यमशीलता विकासका लागि स्थानीय सरकारले आवश्यक सहयोग र सहकार्य गर्नुपर्छ।”

विशिष्ट अतिथि वडा अध्यक्ष भान्सिङ बुढाले संस्थाले महिला उद्यमशीलता र आर्थिक सशक्तीकरणका क्षेत्रमा उदाहरणीय काम गर्नुपर्ने बताउनुभयो। उहाँले महिलाहरू संगठित भएर सामूहिक उद्यम सञ्चालन गर्न सके रोजगारी सिर्जना तथा स्थानीय उत्पादनको प्रवर्द्धनमा समेत टेवा पुग्ने धारणा राख्नुभयो।

त्यसैगरी वडा प्रहरी कार्यालयका प्रतिनिधि जितबहादुर चौधरीले महिलाको सुरक्षा, सामाजिक सचेतना र आत्मनिर्भरताका लागि समुदायस्तरबाट समेत सहकार्य आवश्यक रहेको बताउनुभयो। पत्रकार गोविन्द खड्काले संस्थाले स्पष्ट उद्देश्य र योजनासहित अघि बढेमा समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने धारणा राख्नुभयो।

गीता रेग्मीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सहभागीहरूले नयाँ कार्यसमितिको सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन संस्थाकी सचिव राधा केसीले गर्नुभएको थियो।

नवगठित कार्यसमितिले महिलालाई उद्यमशीलता, सीप, उत्पादन र आत्मनिर्भरतासँग जोड्दै संस्थालाई जिल्लाकै प्रभावकारी महिला विकास संस्थाका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस