घाेराही, २० कार्तिक । किसानले उत्पादन गरेको तरकारीको उचित मूल्य नपाउने र उपभोक्ताले महँगो मूल्यमा खरिद गर्नुपर्ने समस्यालाई समाधान गर्ने उद्देश्यले दाङको घोराहीबाट किसान र तरकारी व्यवसायीलाई एउटै ठाउँमा राखेर तरकारीको मूल्य निर्धारण गर्ने नयाँ अभ्यासको थालनी गरिएको छ।

पत्रकार, साहित्यकार एवं समाजसेवी तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनको अगुवाइमा सुरु गरिएको यस पहललाई किसान र व्यवसायी दुवै पक्षले सकारात्मक रूपमा लिएका छन्। नेपालमै सम्भवतः पहिलोपटक किसान र व्यवसायीलाई एउटै संयन्त्रमा आबद्ध गरी स्थानीय बजारको अवस्थाका आधारमा तरकारीको मूल्य निर्धारण गर्ने अभ्यास सुरु गरिएको पहलकर्ताहरूको दाबी छ।

लामो समयदेखि किसान र तरकारी व्यवसायीबीच तरकारीको मूल्य, बजार व्यवस्थापन, खरिदबिक्री र आपसी समन्वयका विषयमा देखिँदै आएको असमझदारीलाई अन्त्य गर्दै दुवै पक्षको हित सुनिश्चित गर्ने लक्ष्य यस अभियानले लिएको छ। यसका लागि किसान र व्यवसायीका प्रतिनिधि सम्मिलित मूल्य निर्धारण उपसमितिसमेत गठन गरिएको छ। उपसमितिको संयोजकमा सविन प्रियासन रहनुभएको छ।

व्यावसायिक रूपमा तरकारी खेती गर्दै आउनुभएका गिरिराज पुरी, प्रविन दाहाल, महेन्द्र खड्का र नारायण पोखरेलले नयाँ अभ्यासप्रति खुसी व्यक्त गर्नुभएको छ। किसानहरूले उत्पादन गर्नुअघि बजारको अवस्था, उत्पादन लागत र बिक्री मूल्यबारे स्पष्टता नहुँदा विभिन्न समस्या भोग्नुपरेको बताउँदै अब सामूहिक छलफल र समन्वयबाट उचित मूल्य पाउने वातावरण बन्ने अपेक्षा गरेका छन्।

किसानहरूको भनाइमा, उत्पादन गर्न किसानले ठूलो मेहनत, समय र लगानी खर्च गर्नुपर्छ। तर बजारमा पुगेपछि मूल्य निर्धारणमा किसानको भूमिका कमजोर हुँदा कहिलेकाहीँ लागतसमेत उठाउन कठिन हुन्छ। अब किसानको उत्पादन लागत, बजारको माग र उपलब्धताका आधारमा मूल्य निर्धारण हुने व्यवस्था बनेमा किसानलाई व्यावसायिक खेतीमा थप उत्साह मिल्नेछ।

त्यस्तै, लामो समयदेखि घोराहीमा होलसेल तरकारीको कारोबार गर्दै आउनुभएका तारा डाँगी, अति फारुकीलगायत व्यवसायीहरूले पनि नयाँ सुरुवातप्रति खुसी व्यक्त गर्नुभएको छ। व्यवसायीहरूका अनुसार बजारमा मूल्यको स्पष्ट आधार नहुँदा खरिदबिक्रीका क्रममा विभिन्न प्रकारका समस्या र विवाद उत्पन्न हुने गरेका थिए। अब नियमित रूपमा मूल्य निर्धारण हुने प्रणाली विकास भएपछि व्यवसाय सञ्चालन सहज हुने विश्वास उहाँहरूको छ।

उपसमितिका सल्लाहकार सरस्वती खत्रीले पनि यस पहललाई सकारात्मक रूपमा लिनुभएको छ। त्यसैगरी सल्लाहकार प्रेमचन्द्र भुसाल, मधुसुदन अर्याल र कुमार घर्तीले किसान र व्यवसायीलाई एकै ठाउँमा ल्याएर समस्या समाधानको प्रयास हुनु महत्वपूर्ण उपलब्धि भएको बताउनुभएको छ।

उपसमितिका संयोजक प्रियासनले दैनिक बिहान स्थानीय बजारदेखि बाहिरी बजारसम्मको तरकारीको मूल्य, माग, आपूर्ति र कारोबारको अवस्थाबारे अध्ययन गरेर बिहान ९ बजे उपसमितिको बैठकमार्फत दैनिक मूल्य निर्धारण गर्ने अभ्यास सुरु गरिएको जानकारी दिनुभएको छ।

उहाँका अनुसार किसानले उचित मूल्य पाउनुपर्छ भने व्यवसायीले पनि आफ्नो लगानी र श्रमअनुसार व्यवसाय सञ्चालन गर्न पाउनुपर्छ। दुवै पक्षबीच विश्वास र सहकार्यको वातावरण निर्माण नगरी कृषि क्षेत्रको विकास सम्भव छैन। त्यसैले कसैलाई नोक्सान र कसैलाई अनुचित फाइदा हुने अवस्था अन्त्य गर्दै पारदर्शी मूल्य प्रणाली स्थापित गर्नु आफ्नो प्रयासको मुख्य उद्देश्य रहेको उहाँको भनाइ छ।

यस पहलले किसान र व्यवसायीबीचको सम्बन्धलाई थप विश्वासिलो बनाउने मात्र नभई घोराहीलाई व्यवस्थित तरकारी बजारका रूपमा विकास गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। नियमित मूल्य निर्धारण, बजारको अध्ययन र दुवै पक्षको सहभागितालाई निरन्तरता दिन सकेमा किसानले उत्पादनको उचित मूल्य पाउने र व्यवसायीले पनि व्यवस्थित रूपमा कारोबार गर्न सक्नेछन्।

किसानको खेतदेखि उपभोक्ताको भान्सासम्म जोडिएको तरकारी बजारलाई व्यवस्थित बनाउने यो प्रयास सफल भएमा घोराहीको अभ्यास अन्य स्थानीय तहका लागि पनि अनुकरणीय बन्न सक्नेछ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस