हेकुली, १ असार । दङ्गीशरण गाउँपालिकाले आइतबार कार्यक्रम गरी प्रधानमन्त्री रोजगार कार्यक्रमको आरम्भ गरेको छ । गाउँपालिकाले ७ वटै वडाबाट सिफारिस भई आएका आयोजनामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत प्राप्त अनुदान खर्च गर्नेगरी आयोजना छनौट गरेको छ ।
यस आर्थिक वर्षमा गाउँपालिकाले एक सय ९१ जनालाई रोजगारी दिन लागेको दङ्गीशरण गाउँपालिकाका रोजगार संयोजक सन्तोष गिरीले जानकारी दिनुभयो । कार्यक्रमका अवसरमा काममा जाने श्रमिकहरुका लागि हेल्मेट, पञ्जा, मास्क, टिसर्ट लगायतका पोशाकहरु समेत हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष भागीराम चौधरीले अब हरेक जनताको घरमा रोजगारको लागि अवसर आउने बताउनुभयो । बेरोजगार फाराम भरेका हरेक नागरिकलाई अबका दिनमा रोजगारीको लागि प्राथमिकताका आधारमा अवर दिइने बताउँदै उहाँले भनेको बेला काममा नआउने श्रमिकहरुलाई बेरोजगारको सूचीबाट हटाइने बताउनुभयो । जनताको प्रत्यक्ष सहभागितामा हुन लागेको कार्यक्रम गुणस्तरीय हुनुपर्ने धारणा राख्दै अध्यक्ष चौधरीले मिहिनेतका साथ काममा लाग्न काममा खटिएका श्रमिकहरुलाई आग्रह गर्नुभयो ।
गाउँपालिका उपाध्यक्ष पिमाकुमारी खड्काले प्रधानमन्त्री रोजगार कार्यक्रममा महिलाको सहभागिता उल्लेख्य भएको भन्दै महिलाले कमाएको रकम परिवारकै हितमा खर्च हुने बताउनुभयो । महिलाहरु व्यावहारिक एवं काममा प्रतिबद्ध हुने भन्दै उपाध्यक्ष खड्काले प्रधानमन्त्री रोजगार कार्यक्रमले जनताको गरिबी कम गर्नमा मद्दत पुग्ने धारणा राख्नुभयो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सञ्चालन रोजगार संयोजक सन्तोष गिरीले गर्नुभएको थियो ।
दङ्गीशरण गाउँपालिकाका ७ वटा वडाबाट तीन हजार आठ सय ६२ जनाले बेरोजगारको फाराम भरेको गाउँपालिकाका रोजगार संयोजक सन्तोष गिरीले बताउनुभयो । गाउँपालिकाले सडक, सार्वजनिक भवन निर्माण तथा मर्मत, योग साधना भवन निर्माण, पार्क निर्माणलगायतका योजना छनौट गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सञ्चालनका लागि यस आर्थिक वर्षमा दङ्गीशरण गाउँपालिकामा १८ लाख रुपैयाँ विनियोजन गरेको छ ।












