दाङ, १८ वैशाख । नेपाल निजामती कर्मचारी संगठन तुलसीपुर उपमहानगर कमिटीको अध्यक्षमा हिमाल शर्मा चयन हुनुभएको छ । सोमबार तुलसीपुरमा भएको भेलाले हिमाल शर्मालाई अध्यक्षमा चयन गरेको हो ।
संगठनको रिक्त रहेको अध्यक्षमा इन्जिनियर हिमाल शर्मा, कोषाध्यक्षमा प्रकाश केसी, सदस्यहरुमा इन्जिनियर मिना योगी, पदम भण्डारी र सिन्धु हमाललाई भेलाले चयन गरेको संगठनका जिल्ला सचिव बाबुराम न्यौपानेले जानकारी दिनुभयो ।
१३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा संगठनले तुलसीपुरमा बधाई, सम्मान तथा अन्तक्र्रिया कार्यक्रम समेत आयोजना गरेको छ । संगठनका जिल्ला अध्यक्ष शेरबहादुर केसीको अध्यक्षता तथा केन्द्रीय उपाध्यक्ष रेवन्त गौतमको प्रमुख आतिथ्यतामा तुलसीपुरमा भएको कार्यक्रममा संगठनले दाङका १० वटै पालिकाबाट ३ जनाको दरले ३० जनालाई सम्मान गरेको छ । पालिकामा उत्कृष्ट कार्यसम्पादनका साथै संगठनलाई गतिशील बनाउन महत्वपूर्ण भूमिका खेलेकोमा श्रमिक दिवसका अवसरमा सम्मान गरेको सचिव न्यौपानेले बताउनुभयो ।
त्यसैगरी संगठनको ३३औं स्थापना दिवसका अवसरमा तथा एमाले पार्टीको ७५औं स्थापना दिवसका अवसरमा विजयी भएका फुटबल खेलाडीहरुलाई समेत उक्त अवसरमा प्रमाणपत्र वितरण गरिएको थियो ।
उक्त अवसरमा निजामती सेवा ऐनका सन्दर्भमा अन्तक्र्रियाका साथै कार्यक्षमता अभिबृद्धिमा सकारात्मक सोच सम्बन्धी प्रशिक्षण कार्यक्रम समेत सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रममा उपप्राध्यापक सुन्दर गौतमले प्रशिक्षण दिनुभएको थियो ।
साथै निजामती सेवा ऐनका बारेमा केन्द्रीय प्रतिनिधि विनोद अधिकारीले प्रस्तुत गर्नुभएको कार्यपत्रमा अन्तक्र्रिया समेत गरिएको थियो । हालै बाहिर आएको निजामती सेवा ऐनको ड्राफ्टमा थप सुधार गर्नुपर्ने सहभागीहरुले सुझाव दिएका थिए ।
कार्यक्रममा नेकपा (एमाले)की केन्द्रीय सदस्य एवं अनेम संघकी केन्द्रीय उपाध्यक्ष मेनका पोख्रेल, केन्द्रीय सदस्य घनश्याम पाण्डे, संगठनका केन्द्रीय सचिव बामदेव वली, नगर प्रमुख टीकाराम खड्कालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । तुलसीपुर नगर कमिटी सचिव केशव डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संगठनका सचिव बाबुराम न्यौपानेले गर्नुभएको थियो ।












