महेश बस्नेत
घोराही, २६ माघ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घोराही नगर कमिटीद्वारा आयोजित किड्स ओलम्पियाड बेल्झुण्डी रङ्गशालामा शनिबार सम्पन्न भएको छ । प्याब्सन घोराहीले पहिलो पटक सञ्चालन गरेको प्रथम प्याब्सन घोराही किड्स ओलम्पियाड २०८१ मा ३२ ओटा विद्यालयका झण्डै २ हजार विद्यार्थीहरुले आफ्ना प्रतिभाहरु प्रस्तुत गरेका थिए ।

प्याब्सन घोराही नगर कमिटीका अध्यक्ष बालकृष्ण ओलीको अध्यक्षता एवम् घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखाका प्रमुख नारायण प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा आयोजित किड्स ओलम्पियाडमा विद्यार्थीहरुले एकसाथ राष्ट्रिय गीतमा नृत्य गरेका थिए । निकै नै रोमाञ्चक प्रस्तुतिकासाथ विद्यार्थीले आफ्ना विद्यालयको व्यानर र झण्डासहित ड्रमसेटका मार्चपास समेत  गरेका थिए ।

कूल पाँचवटा इभेन्ट प्रस्तुत गरिएको ओलम्पियाडमा तीन वटा इभेन्टहरु कक्षागत रहेको थियो । कक्षा एलकेजीका विद्यार्थीहरु बेलुन ब्लास्ट, कक्षा युकेजीका विद्यार्थीहरु टिसर्ट एक्स्चेन्ज र कक्षा एकका बिद्यार्थीहरु ५० मिटर दौडमा सहभागी भएका थिए । ओलम्पियाडमा कूल सहभागी ३२ ओटा विद्यालयलाई ४ ओटा समुहमा विभाजन गरि एकसाथ कार्यक्रम सञ्चालन गरिएको थियो ।

कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि सामाजिक विकास महाशाखा घोराहीका प्रमुख नारायण प्रसाद पौडेलले बालबालिकाको क्षमता प्रस्फुटन गर्न प्याब्सन घोराहीले अग्रणी भूमिका खेलेकोमा प्रशंसा गर्नुभयो । पौडेलले यस्ता कार्यक्रमबाट बालबालिकाहरुको क्षमता विकास हुने भन्दै अभिभावकहरुले पनि उनीहरुको प्रतिभा उजागर गर्न प्रेरित गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्याब्सनका पूर्व केन्द्रीय सदस्य केशब थापाले यस्ता कार्यक्रमले बालबालिकालाई अगाडि बढ्न प्रोत्साहित गर्ने बताउनुभयो । यसैगरी, अर्का वक्ता प्याब्सनका पूर्व केन्द्रीय सदस्य जीवन कुमार आचार्यले किड्स ओलम्पियाडले बालबालिकालाई आफ्नो लक्ष्य निर्धारण गर्न उत्प्रेरित गरेको बताउनुभयो ।

कार्यक्रममा  प्याब्सन लुम्बिनी प्रदेशका उपाध्यक्ष अमर सुवेदी, प्याब्सन दाङका वरिष्ठ उपाध्यक्ष एवम् प्याब्सन घोराही नगरका प्रमुख सल्लाहकार विरेन्द्र चन्द, अन्तरपालिका प्याब्सन दाङका संयोजक गिरिराज डाँगी र घोराही उपमहानगरपालिकाका खेलकुद विकास समिति संयोजक नरेन्द्र पुनलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

प्याब्सन घोराहीका उपाध्यक्ष मानसिंह घर्तीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण सचिव विमल भण्डारीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस