दाङ, ११ फागुन । दाङको धारपानीमा सोमबारदेखि महाशिवरात्रि मेला लाग्ने भएको छ। घोराही उपमहानगरपालिका वडा नम्बर ५ स्थित पाण्डवेश्वर महादेव मन्दिर धाममा लाग्ने मेलाको पहिलो दिन सोमबार १०८ गौमुखी धाराको उद्घाटन गरिनेछ। विभिन्न दाताहरूको सहयोगमा निर्माण भएका गौमुखी धाराहरू घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
गौमुखी धारा निर्माण भएको लामो समय भए पनि नियमित पानी खस्ने व्यवस्था भएपछि यसले पूर्णता पाएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार अधिकारीले जानकारी दिनुभयो । ती धाराहरूमा नियमित पानी खसाल्नका लागि बबईको पानी लिफ्टिङ गरेर पोखरीमा जम्मा गरिएको र पाइपमार्फत गौमुखी धारामा खस्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो। गौमुखी धारा उद्घाटनपछि प्रत्येक दिन बिहान २ घण्टा १०८ वटै धारामा भक्तजनहरूलाई स्नानका लागि पानी आउने व्यवस्था गरिनेछ।
महाशिवरात्रि पर्वकै अवसरमा फागुन १३ गते बेलुका एक हजार आठवटा दीप प्रज्ज्वलन गरिनेछ भने १४ गते विधिपूर्वक भगवान् शिवको पूजाआराधना गरिनेछ। सोही दिन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको उपस्थितिमा नेपाली सेना, सुरक्षाकर्मी, मन्दिर व्यवस्थापन समिति, भक्तजनहरू लगायतको सहभागितामा शिव सलामी समेत दिइनेछ।
महाशिवरात्रि मेलालाई ध्यानमा राख्दै मन्दिर परिसर सरसफाइ तथा रंगरोगनको काम सम्पन्न गरिएको छ। मन्दिरको आन्तरिक स्रोत तथा दाताहरूको सहयोगमा विभिन्न संरचनाहरू निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले जानकारी दिनुभयो। मेलालाई व्यवस्थित बनाउन मूल समिति गठन गरिएको छ भने विभिन्न उपसमितिहरू निर्माण गरी जिम्मेवारी तोकिएको छ।
यसैबीच, मेलामा कुनै अप्रिय वा उच्छृंखल गतिविधि हुन नदिन मन्दिर क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ। मन्दिरको पूर्वतर्फ भलई सोता, पश्चिमतर्फ पिच रोड, उत्तरतर्फ बबई नदी र दक्षिणतर्फ सुनकोट मन्दिर क्षेत्रभित्र मदिरा बिक्री तथा सेवन गर्न प्रतिबन्ध लगाइएको मेला तथा बजार व्यवस्थापन उपसमितिका संयोजक बलिराम भुसाल गोपालले जानकारी दिनुभयो।












